यसरी हुँदैछ मुर्रा राँगाको व्यवस्थापन

यसरी हुँदैछ मुर्रा राँगाको व्यवस्थापन

गत शुक्रबार काठमाडौंस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे विज्ञप्ति जारी गर्दै नेपाललाई १५ वटा भैंसी उपहार दिने समझदारी भएको जानकारी दियो । भारतले नेपाललाई १५ वटा भैंसी दिन लागेको समाचारसँगै सामाजिक सञ्जालमा अनेक तर्क, वितर्क गरियो ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड स्वदेश नफर्कंदै ट्रोलको सिकार हुनुभयो । अधिकांश सञ्जालमा ‘प्रधानमन्त्रीलाई भारतको भैंसी उपहार !’ लेखियो ।

त्यतिले नपुगेर सदनमासमेत भैंसीको विषयले तहल्का मच्चियो । यसबीचमा कृषि तथा पशुपन्छी मन्त्रालयले मित्रराष्ट्र भारतले भैंसी नभई राँगा उपहार दिन लागेको जानकारी दिएको छ । मन्त्रालयले सामाजिक सञ्जालमा भारतले भैंसी दिन लागेको भन्दै भ्रम सिर्जना गरिएकोमा प्रष्ट पारेको हो । 
उसले भनेको छ, ‘नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट भैंसीको नश्ल सुधारमा फड्को मार्न सकिन्छ ।’ मन्त्रालयले वस्तुगत सहायतास्वरुप उपलब्ध हुने उच्च प्रजनन जातका १५ वटा राँगाबाट तीन वर्षपछि वार्षिक कम्तीमा साढे एक लाख डोज वीर्य उत्पादन हुने हिसाब निकालेको छ । 

यसले कम्तीमा एक लाखदेखि दुई लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गराउन सकिन्छ । त्यसपछि भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुनेमा मन्त्रालय विश्वस्त देखिन्छ । 

मन्त्रालयका सूचना अधिकारी प्रदीपचन्द्र भट्टराई भारतले नेपाललाई दिने भनेको राँगा अबको एक महिनाभित्र मुलुकमा आइपुग्ने दाबी गर्छन् । 

उनका अनुसार विभिन्न मापदण्ड पूरा गरेर उन्नत जातका राँगा भित्र्याउनुपर्ने हुन्छ । पशु सेवा विभागको प्राविधिक टोलीले भारत पुगेर राँगाको स्वास्थ्य अवस्था चेकजाँच गरेर मात्र नेपाल भित्राइने उनले बताए । 

लामो समयदेखि उन्नत जातको राँगा भित्र्याउने प्रयास बल्ल पूरा हुन लागेकोमा भट्टराईले खुशी समेत व्यक्त गरेका छन् । ‘नेपालले भारतसँग सात वर्षदेखि उन्नत जातको नश्ल विकासका लागि वीर्य उत्पादन गर्ने मुर्रा राँगाबारे अनुरोध गरिरहेको थियो । तर, सबैतिरको प्रयास असफल भयोे,’ सूचना अधिकारी भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणपछि मात्र यो सफल भएको हो । भारतसँग नेपालले ३० वटा राँगा खरिद प्रस्ताव गरेपनि अहिले भारतले १५ वटा राँगा सित्तैंमा दिन लागेको छ । कृषि, दुग्ध उत्पादन र चौपाया विकासमा यो ठूलो उपलब्धि हो ।’

राँगाको व्यवस्थापन

भारतले दिएका राँगालाई सरकारीस्तरमै राखिनेछ । ती राँगा र भैंसीबीच प्रजनन गराएर भैंसीको नश्ल सुधार गर्न आवश्यक तयारी गरिएको विभागको भनाई छ ।

सरकारले पोखरा, लहान र गाईघाटमा राष्ट्रिय पशु प्रजनन कार्यालयको स्थापना गरेको छ । ती कार्यालयमा नश्ल सुधारका लागि राँगाबाट कृत्रिम गर्भाधानमार्फत वीर्य संकलन गरिने छ । 

उन्नत जातका भैंसी, गाईवस्तुलगायत उत्पादन गर्ने यो नै सबैभन्दा प्रभावकारी माध्यम हो । धेरै दूध दिने भैंसीको निम्ति मुर्रा जातका राँगा व्यवस्थापन गर्न समस्या भइरहेको बेला वीर्य संकलन नेपालमा प्रभावकारी बन्ने छ । साथै, नश्ल सुधारका लागि संसारभर यही विधिबाट गर्भाधान गरिने विज्ञहरुको भनाई छ । 

कृत्रिम गर्भाधान 

कृषि मन्त्रालयका पशुविज्ञ टेकबहादुर ऐरका अनुसार पहिले राँगाबाट वीर्य संकलन गरिने छ । त्यसपछि वीर्यलाई ल्याबमा आवश्यक मापदण्ड पूरा गरेर राखिने छ ।

ती वीर्य माइनस १९६ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ । अनि मात्र यो लिक्विड नाइट्रोजनमा सम्भव हुने उनले बताए । 

पशुविज्ञ ऐरले यसपछि ढुवानी गर्न सकिने ठाउँमा लगेर प्राविधिकको सहायकताबाट सोही वीर्यलाई भैंसीमा कृत्रिम गर्भाधान गराइने जानकारी दिए । अकोतर्फ राँगाको प्रयोग प्राकृतिक गर्भाधानमा उपयोग गराउन सकिने छ ।

पशु विकासमा अन्य मुलुकको सहयोग

यसअघि गत पुस ७ गते दक्षिण कोरियाले अनुदानस्वरुप तीन दर्जन बढी कोरली बाच्छी र साँढे नेपाललाई सहयोगस्वरुप प्रदान गरेको थियो । 

नेपाल सरकारको लामो प्रयासपछि कोरियाले पटकपटक गरेर एक सय वटा कोरली बाच्छी र २० वटा साँढे दिने सम्झौता गरेको हो । 

तर, अन्य मुलुकले उत्तम जीनका पशुहरु दिन आनाकानी गरेको सूचना अधिकारी भट्टराई बताउँछन् । ‘अन्य मुलुकले असल जातका पशु दिनै मान्दैनन् । आफू बाहेक अरु मुलुकको उत्पादन बढ्छ भन्ने सोचाइले पनि पशु ल्याउन निकै अप्ठ्यारो छ,’ उनले भने । 

झण्डै सात वर्षको प्रयासपछि भारतले अहिले राँगा दिन लागेको हो । भट्टराईका अनुसार हालको निम्ति यो नै सबैभन्दा ठूलो उपलब्धि हो । मुलुकको दुग्ध उत्पादन क्षेत्रमा यसले निकै ठूलो फड्को मार्ने पनि पदाधिकारीहरु सुनाउँछन् ।

टिप्पणीहरू