हर्क साम्पाङको शहरमा पानी अभाव, डाक्टरहरुको पढाई ठप्प

हर्क साम्पाङको शहरमा पानी अभाव, डाक्टरहरुको पढाई ठप्प

खानेपानी अभावका कारण मुलुककै प्रतिष्ठित शिक्षण संस्थाको पठनपाठन रोकिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित कक्षा स्थगित गरिएको छ । 

खानेपानीको चरम अभाव र अस्पतालमा पर्याप्त मात्रामा पानी नहुँदा पठनपाठन ठप्प पार्नुपरेको बताइएको छ । प्रतिष्ठानले आज जारी गरेको सूचनामा दन्त चिकित्साका दोस्रो वर्षबाहेक अन्य सबै कक्षा आगामी मंगलबारसम्म स्थगित गरिएको जानकारी दिइएको छ । 

‘पानीको चरम संकट र अस्पतालमा पर्याप्त मात्रामा पानी आपूर्ति हुन नसक्दा बिडिएसका दोस्रो तहबाहेक सम्पूर्ण कक्षा बन्द रहने जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । 

अवस्था सहज भएमा जेठ ३१ गतेदेखि नियमित कक्षा सञ्चालन हुने जनाइएको छ । धारामा पानी नआएपछि केही दिनअघि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलननै गरेका थिए । 

छात्राबासमा पानी नभएपछि सास्ती भोगिरहेका विद्यार्थीहरुले रुमाल, बाल्टिनलगायत सामान बोकेर प्रतिष्ठान घेरेका थिए ।

टिप्पणीहरू