सँधै विदेशमा हुने एमाले सांसदले गरे खाल्डाखुल्डीका कुरा
नेकपा एमालेका सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले मुलुकभरका सडकमा रहेको खाल्डाखुल्डी तत्काल पुर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ढकालले आजको संसद बैठकमा उक्त धारणा राखेका हुन् ।
पायः विदेश गइरहने ढकाल आज संसद बैठकमा उपस्थित भएका हुन् । उनी गत आमनिर्वाचनपछि सात महिनामा झण्डै एक दर्जन पटक विदेश उडेका छन् । उनी नियमित रुपमा कोरिया, फिलिपिन्स, मलेसिया, थाइल्याण्ड र अष्ट्रेलिया उडेको देखिन्छ ।
यसबीचमा उनी भारतको राजधानी नयाँ दिल्ली र टर्कीको इस्तानबुल पनि गएका छन् । मनिला सुसुराली र सिओल इसाई धर्मसँग सम्बन्धित काममा उनी अन्यत्रभन्दा बढी आउजाउ गरिरहन्छन् ।
विदेश सयर गर्दै आइरहेका उनले मुलुकका सडकको दुरावस्था देखेपछि आज भने, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, सडकका खाल्डाखुल्डी नपुरेको कारणले गर्दा त्यहाँ कुनै दुर्घटना भयो भने त्यसको जिम्मा नेपाल सरकारले लिनुपर्छ । म सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि सडकमा भएका सबै खाल्डाखुल्डी तत्काल पुर्ने व्यवस्था गरियोस् ।’
टिप्पणीहरू