प्रधानन्यायाधीशविरुद्ध उजुरकर्ता न्यायाधीशमाथि ‘किर्ते’ को आरोप
कायममुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न रोक लगाउनुपर्ने मागसहित संसदीय सुनुवाइ विशेष समितिमा उजुरी दिएका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई आफैं विवादको दलदलमा परेको तथ्य खुलेको छ । निजी स्वार्थ पूरा नभएपछि कार्कीविरुद्ध खनिएको पछिल्लो घटनाले पुष्टि गरेको छ ।
लामो समय चुप लागेर सुनुवाईको मुखैमा कार्कीविरुद्ध उजुरी हालेपछि सर्वोच्च अदालतकै न्यायाधीश र कानुन व्यवसायीबीच भट्टराई बहस र छलफलको विषय बनेका हुन् । उनलाई चिनेजानेकाहरु भट्टराई स्वयम् नैतिक रुपमा यसअघि नै च्युत भएको बताउँछन् । उनको विगत इतिहास केलाउँदा संगीन विवादमा मुछिएको तथ्य फेला परेपछि भट्टराई विवादमा तानिएका हुन् । यसबाट उनी आफैं उजुरी दिनका लागि कति योग्य हुन् र उनको उजुरी कतिसम्म भन्ने नयाँ प्रश्न समेत उब्जेको छ ।
सर्वोच्च अदालतको २०६३ सालको वार्षिक प्रतिवेदनमा तत्कालीन उपन्यायाधिवक्ता रहेका भट्टराईलाई गम्भीर आरोपसहित कारबाहीको किटान छ । उनलाई विभागीय कारवाही गरी दुई ग्रेड रोक्का गर्दै काज फिर्ता समेत गरिएको थियो । त्यसपछि इलाम सरुवा गरियो ।
उनीविरुद्ध तत्कालीन प्रधानन्यायाधीश दिलिप पौडलमाथि किर्ते गरेको आरोप थियो । वार्षिक प्रतिवेदनमै किटान गरिएको आरोप अनुसार जुन २–८, २००७ मा हङकङमा आयोजना भएको एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशको १२ औं सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश पौडेललाई आएको निमन्त्रणमा भट्टराईले बदमासी गरेको आरोप त्यतिबेलै लागेको थियो । प्रधानन्यायाधीशलाई पत्तो नदिई ठाडै आउन असमर्थता जनाउँदै व्यक्तिगत परिपत्र पठाएर किर्ते गरेको आरोप उनीमाथि छ ।
पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको नाम रजिष्ट्रेसनको निम्ति अप्रिल ३ तदनुसार २०६३ चैत २० गते १२ औं सम्मेलनको सचिवालय हङकङमा इमेलमार्फत् पत्र पठाउँदा प्रधानन्यायाधीशका निजी सचिव रहेका भट्टराईले गलत रुपमा नेपाली टोलीकोे सहभागिता हुन नसक्ने भनि किर्ते, झुठो र बनावटी व्यहोरा तयार गरी पठाइएको भनेर प्रतिवेदनमा झुठो दर्ज भएको छ । झुठो, किर्ते र बनावटी व्यहोरा तयार गरी नेपालको न्यायपालिका एवम् प्रधानन्यायाधीशको पदको मर्यादामासमेत आँच पुग्नेगरी बदनियतपूर्ण तरिकाले सम्मेलनको सचिवालयमा गैरकानुनी तवरले पत्राचार गरेको आरोपमा निजलाई निजामती ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम विभागीय कारवाहीको सिफारिस गरिएको किटान छ । यस्तो निर्णय प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगले गरेको थियो ।

भट्टराईको यो कर्तुतका कारण ठाडै बर्खास्त गर्न सकिने भए पनि तत्कालीन न्याय सेवा आयोगले उदारता दर्शाउँदै सरुवा र ग्रेड रोक्काको निर्णय मात्र लिएको उनका त्यतिबेलाका सहकर्मी बताउँछन् । सर्वोच्चको वार्षिक प्रतिवेदनमै झुठो, किर्ते र वनावटी व्यहोरा तयार गरेर न्यायपालिका र प्रधानन्यायाधीशलाई नै ढाँटेको गम्भीर कलंक आजसम्म पनि अभिलेखमा दर्ज छ ।
उनी जिल्ला न्यायाधीशमा नियुक्ति हुँदा विगत आचारणको अनदेखा गरिएको भनेर सबैतिर चर्चा समेत उठेको थियो । यति मात्र होइन, निकटस्थहरु भट्टराई अमेरिकाको पिआरधारी समेत रहेको बताउँछन् । यस्तै, भट्टराईमाथि दुईवटी पत्नीको आरोप पनि छ । कान्छी पत्नीलाई अमेरिकामा राख्ने, जेठी पत्नीलाई अंश समेत नदिएर हेँलाहोचो गर्दै गोठको बास बनाएको, जिविकोपार्जनका लागि लमजुङमा ज्याला मजदुरी गर्न बाध्य बनाएको भट्टराईका निकट भनिएका मित्रहरु बताउँछन् । जेठीसँग बोलचाल समेत बन्द रहेको निकटस्थहरुको भनाई छ ।
भट्टराई कास्की जिल्ला अदालतमा तीन वर्ष १ नम्बर न्यायाधीशका रुपमा कार्यरत थिए । सर्वोच्च स्रोतका अनुसार उनी अन्यत्र सरुवा नभई पुनः त्यहिँ रहन विगतमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र हालका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकोमा लबिङ गरेको बताइन्छ । कास्की अदालतमा धेरै मुद्दाको चाप रहेका कारण न्यायाधीश पनि उल्लेख्य संख्यामा छन् । धेरै न्यायाधीशको हाकिम भएर बस्ने मनसुवा पूरा नभएपछि सुनुवाईको मुखमा इवि दागेको आरोप पनि सर्वोच्च भित्र र बाहिर उनीविरुद्ध लागेको छ ।
अर्घाखाँची सरुवा भएपछि उनी कार्कीमाथि खनिएका हुन् । यसो त, न्यायाधीश भट्टराईलाई सँधै सुगममा बसेर रजगज गर्ने जिल्ला न्यायाधीशको रुपमा पनि चिनिन्छ । परिचय बनाइसकेका छन् । कार्कीले आफ्नो इच्छा पूर्ति नभएपछि तनाव दिने मनसायले बनावटी र मनगढन्ते कथा बुनेर सुनुवाई समितिमा उजुरी दर्ता गरेको भन्दै सर्वोच्च बार र नेपाल बार परिषद्मा चर्चा चलाइएको छ ।
यसरी आफैँ विवादै विवादको माकुरी जालमा परेका यिनै जिल्ला न्यायाधीश भट्टराईले कार्कीले प्रधानन्यायाधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत नभएको दाबीसहित असक्षम रहेको आरोप लगाएका छन् । अहिले पनि प्रश्न उठेको छ– सर्वोच्चको न्यायाधीश सिफारिस हुँदा ठीक, कामु हुँदा ठीक रहेका उनै कार्की अहिले कसरी बेठिक ?
टिप्पणीहरू