संसदमा मुर्रा राँगोको विषय उछालेर कृषि क्षेत्रको अपमान गरेको भन्दै किसान महासंघको आपत्ति
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले भारत सरकारका तर्फबाट अनुदानमा प्राप्त मुर्रा राँगाको विषय संसदमा उछालेर कृषि क्षेत्रको अपमान गरिएको भन्दै आपत्ति जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले मुर्राबारे केही राजनीतिक दलका सांसदले बोलेको विषयले मुलुकको दुईतिहाई जनसंख्या ओगट्ने नेपाली किसान र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गरेको बताए ।
कृषि क्षेत्रलाई अपमान र युवालाई कृषिबाट विकर्षित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा संगठनको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
मुर्रा जातको भैंसीको उपयोगिता र प्रभावकारिताबारे ज्ञान नभएका तर आफूलाई ब्रम्हज्ञानी ठान्ने महाकाली बेचुवा राजनीतिक दलहरु ‘जान्नेलाई छान्ने’ भन्दै आफू बाहेकका आमनागरिक, किसान, मजदुरलाई नजान्ने, अनपढ, गोबर बनाउँदै संसदमा हंगामा खडा गर्नुले उनीहरुको कृषि र किसानविरोधी चरित्र र चिन्तन खुलस्त भएको महासंघको आरोप छ ।
महासंघले कृषि र किसान विरोधी राजनीतिक दल र नेतालाई मूर्दावाद भन्दै भारत भ्रमणको अवसरमा नेपाली किसानको हितलाई ध्यानमा राखी पशुपालक किसानलाई उच्च उत्पादनमूलक पशुनश्ल उपलब्ध गराउन पहल गरिदिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गरेको छ ।
त्यस्तै, किसानको भोटले मात्रै राजनीतिक दलहरु संसद छिर्न पाउने र किसानले नरुचाएको दिन तिनलाई नेपाली किसानले ‘दुधमा परेको झिँगो टिपेर मिल्काए’ जस्तै नेपालको राजनीतिक इतिहासबाट तिनको नामो निशान मेटाइदिने महासंघको दाबी छ ।
सबै राजनीतिक दललाई जिम्मेवार बन्न, कृषि पेसा र किसानलाई अपमान गर्ने गतिविधि संसद वा संसद बाहिर नदेखाउन आग्रह गर्दै महासंघले अन्यथा किसानको आक्रोशको तारो बन्ने चेतावनी दिएको छ ।
टिप्पणीहरू