विद्यालयका असन्तुष्ट कर्मचारीले थाल ठटाए

विद्यालयका असन्तुष्ट कर्मचारीले थाल ठटाए

सरकारले ल्याएको बजेटमा आफूहरुको माग सम्बोधन नगरिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले थाल ठटाएर विरोध गरेको छ । 

सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक तथा कर्मचारीहरुको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै परिषद्ले आज राजधानीको नयाँ बानेश्वरमा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो । 

आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा विद्यालयका कर्मचारीहरुको सेवासुविधा हेरफेर गरिने विषय उल्लेख भएपनि बजेटले उपेक्षा गरेको परिषद् अध्यक्ष गंगाराम तिवारीले बताए ।

उनका अनुसार गत भदौ १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा कार्यरत दुई तहको कर्मचारीको तलबमान वृद्धि गर्न मन्त्रीस्तरीय निर्णय गरिएको थियो । तर, बजेटमा सो विषय उल्लेख नभएकोमा उनको गुनासो छ । 

हालसम्म शान्तिपूर्ण आन्दोलनमा रहेको बताउँदै उनले असार १ गतेभित्र माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । त्यस्तै, भोलिबाट काठमाडौंमा रिले अनशन बस्ने जनाइएको छ । 

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख छ । तर बजेटमा सम्बोधन गरिएन । गत वर्षपनि भदौ १ गतेदेखि आन्दोलन गर्र्यौं । बल्लतल्ल पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सुन्नुभएको थियो । तर, त्योपनि कार्यान्वयनमा आउन सकेन ।’

परिषद्ले कार्यालय सहयोगीको तलब २४ हजार ७०२ र लेखा सहायकको तलब ३२ हजार ९०२ रुपैयाँ पुर्याउन माग गरेको छ । सरकारले थाल किन्न पैसा दिएपनि खानेकुरा भने नदिएको उनको भनाई छ । 

आन्दोलनकारीहरुले थाल ठटाउँदै ‘संघीय शिक्षा ऐन जारी गर’, ‘बुँदा नम्बर १२७ लागु गर’, ‘संविधानको धारा ३१ लागु गर’, ‘हाम्रो माग पूरा गर’, लगायत नारा लगाएका थिए ।

टिप्पणीहरू