डिएसपीमा गोर्खा र अर्घाखाँचीका छपक्कै

डिएसपीमा गोर्खा र अर्घाखाँचीका छपक्कै

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवा सतप्रतिशत पारदर्शी गर्छु, कसैले गलत गरे कारबाही ठोक्छु भनी सार्वजनिक कार्यक्रममा सुशासनको भाषण गरेको पर्सिपल्ट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा निस्कियो । यही बढुवा विभेदपूर्ण, अन्यायपूर्ण, सामाजिक न्यायको सिद्धान्तविपरीत छ भन्ने आरोप लाग्न थालेको छ ।

आइजिपी वसन्त कुँवरले आफ्नो जिल्ला अर्घाखाँचीबासी वरीयता नम्बर १ का इन्स्पेक्टर कमल बेल्बासेलाई २ नम्बरमा राखी पहिले लामो समय सचिवालयभित्र काम गरेका वरीयता नम्बर २ का रञ्जन अवालाई १ नम्बरमा उकालेका छन् । आफ्ना अंगरक्षक वरीयता नम्बर २६ का इन्स्पेक्टर यमकुमार श्रेष्ठलाई ३ नम्बरमा, जिल्लावासी वरीयता नम्बर १११ का शङ्कर पोखरेललाई ४५ नम्बरमा र वरीयता १२८ की लक्ष्मी पाण्डेलाई ४६ नम्बरमा ल्याएका छन् ।

त्यसैगरी आफ्नो निजी निवासमा कार्यरत वरीयता नम्बर १५ का इन्स्पेक्टर सुधिर राईलाई ८ नम्बरमा ल्याउँदै सचिवालय मातहत शाखामा काम गर्ने वरीयता नम्बर ५६ का इन्स्पेक्टर रामकुमार राईलाई ४४ नम्बरमा, वरीयता नम्बर १०३ का मिङ्मा शेर्पालाई २५ नम्बरमा फुली थपिदिएका छन् । त्यस्तै वरीयता नम्बर ९३ का केशरकुमार न्यौपाने ३८ नम्बरमा बढुवा भएका छन् । हाल युएन मिसनमा रहेकी र बढुवाको लागि बिदामा नेपाल आएकी वरीयता नम्बर ६९ की एलिजा गिरी ४ नम्बर मेरिट कायम भएकी छन् । 

फिल्डमा काम गर्ने र मेरिटमा अगाडि रहेका दुई जना महिला इन्स्पेक्टरलाई पछि पार्दै पाँच जना महिला इन्स्पेक्टरलाई बढुवा गरेको विषय उत्तिकै पूर्वाग्रहपूर्ण छ ।

त्यस्तै, एआइजी सन्दिप भण्डारीले सम्हालेको मानवस्रोत विभागभित्र वरीयता नम्बर ५ का इन्स्पेक्टर कमलराज पण्डितलाई सोही नम्बरमा र वरीयता नम्बर ८ का अनमोल खड्कालाई ९ नम्बरसहित ५२ का निशान थापालाई ११ नम्बर दिइएको छ । अख्तियारमा कार्यरत वरीयता नम्बर २५ की चेतना पोख्रेललाई ६ नम्बरमा उकालिएको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयभित्रको महत्वपूर्ण शाखामा कार्यरत वरीयता नम्बर ५० का निरञ्जन भट्टराई ३५ नम्बरमा, वरीयता नम्बर ६२ का ईश्वरीप्रसाद भण्डारी २१ नम्बरमा, वरीयता नम्बर ७८ का दीपककुमार शाह ३७ नम्बरमा बढुवा भएका छन् । निशान थापा एआइजी भण्डारीको जिल्लाबासी हुनुका साथै उनकै शाखामा कार्यरत रहेको हँुदा ५२ बाट एकैपटक ११ मा पर्न सफल भएका छन् । साढुदाई नाता पर्ने वरीयता नम्बर १७ का प्रकाश बुढाथोकीलाई समेत १४ भित्र पारिएको छ ।

त्यस्तै, वरीयता नम्बर ८९ का इन्स्पेक्टर कमल बजगाईंलाई २९ मा ल्याउन एआइजी सफल भएका छन् । ससुरालीतर्फ नजिकैको नातेदार रही ओखलढुंगा घर भएका वरीयता नम्बर ६० का नवराज ढुंगेललाई १६ नम्बरमा, वरीयता नम्बर १२४ का विनोदकुमार सुनुवारलाई २७ नम्बरमा र ४३ का खगेन्द्र धमलालाई ४१ नम्बरमा ल्याइएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उनको सचिवालयका हर्ताकर्ता सुरेशकाजी श्रेष्ठ, विजय गौतम, सुसन कर्माचार्यसमेत इन्स्पेक्टर बढुवामा पारदर्शी हुन सकेनन् भन्ने आरोप छ । गृहमन्त्रीको जिल्लाका सबै इन्स्पेक्टर बढुवामा पर्न सफल भएका छन् ।

गोरखा घर हुने वरीयता नम्बर ५३ का सुवास भट्टलाई १५ मा, ४० का दयाकृष्ण भट्टलाई २८ मा, ४१ का जीवन निरौलालाई ३४ भित्र पारिएको छ भने लमजुङ घर हुने ५१ का ज्ञानबहादुर खड्कालाई २६ र ७९ का विकास थापालाई ३३ मा बढुवा गरिएको चर्चा छ । ११८ नम्बरकी शुभद्रा लामा वाइवालाई समेत ३६ नम्बरमा ल्याइएको गुनासो छ । कोटा कम, प्रतिस्पर्धी धेरै भएपछि मिलाउन गाह्रो पर्नु स्वभाविकै हो भन्नेहरू पनि उत्तिकै छन् ।
 

टिप्पणीहरू