नेविसंघले गद्दारी गरेको भन्दै अनेरास्ववियु आगो

नेविसंघले गद्दारी गरेको भन्दै अनेरास्ववियु आगो

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पूर्वाञ्चल विश्वविद्यालयमा गरिएको तालाबन्दी र सेवा आयोगका अध्यक्षमाथि गरिएको दुव्यवहारप्रति आपत्ति जनाएको छ । 

अध्यक्ष समिक बडालले आज विज्ञप्ति जारी गर्दै यही जेष्ठ ३२ गतेबाट सुरु हुन लागेको परीक्षा बिथोल्ने गरी नेविसंघको नामबाट दुसित मनसायका साथ पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी गर्नुका साथै अध्यक्षलाई दुर्व्यवहार गरिएको बताए । उनले विद्यार्थी संगठन शैक्षिक मुद्दामा केन्द्रीय हुनुपर्नेमा प्राध्यापक/कर्मचारीको नियुक्ती र भागबण्डामा केन्द्रीत हुनु आन्दोलनप्रतिको गद्दारी भएको आरोप लगाए । 

‘विद्यार्थी र विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दामा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्दछ तर विद्यार्थी संगठनहरु यसरी प्राध्यापक-कर्मचारीहरुको नियुक्ती र भागबण्डामा केन्द्रीत गर्नु विद्यार्थी आन्दोलनप्रतिको गद्दारी हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ अनेरास्ववियु विश्वविद्यालयहरुमा प्राज्ञिक वातावरण कायम गर्नका निमित्त अराजक गतिविधि र भागबण्डाको विरुद्धमा निरन्तर प्रतिबद्द रहेको छ ।’

त्यस्तै, सरकारको संरक्षणमा विश्वविद्यालयमा नेविसंघले गर्ने अपराधिक गतिविधिको तीरस्कार गर्दै अनेरास्ववियुले नेविसंघद्धारा विश्वविद्यालय अन्तर्गतका विभिन्न चार वटा डीन कार्यालयमा गरिएको तालाबन्दी तत्काल खोल्न माग गरेको छ । 

प्राज्ञिक थलोमा पटक-पटक अपराधिक गतिविधि नदोहोर्याउन अनुरोध गर्दै यस्ता अपराधिक गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न पनि अनेरास्ववियुले विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू