संसद भवनबाट पत्रकार लखेटिएको घटनामा महासंघको आपत्ति

संसद भवनबाट पत्रकार लखेटिएको घटनामा महासंघको आपत्ति

रिपोर्टिङमा गएका रातोपाटी अनलाइनका पत्रकार शम्भु दंगालमाथि संसद भवनमा भएको दुर्व्यवहारको घटनालाई लिएर पत्रकार महासंघले आपत्ति जनाएको छ । हिजो भएको सो घटनाप्रति महासंघले आज विज्ञप्ति जारी गरेर भर्त्सना गरेको हो । 

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकमा समाचार संकलन गर्न पुगेका दंगालमाथि त्यहाँ खटिएका मर्यादापालकले दुव्यर्वहार गरेका थिए । समाचार  संकलनमा जुटिरहेको अवस्थामा माथिको आदेश भन्दै पाखुरामा समातेर गलहत्याउँदै बाहिर निकालिएको थियो । 

उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै महासंघले स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि गरिमामय संसद्को मर्यादापालकबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताएको छ । 

साथै, संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिई प्रेसमैत्री वातावरण तयार पार्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू