विद्यार्थी बितेपछि बन्द भएको विद्यालय खुल्यो
कक्षा ५ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेपछि १५ दिनदेखि बन्द रहेको राजधानीको इलिप्स बोर्डिङ स्कुल सुचारु भएको छ । विद्यालयले सञ्चालन गरेको काठमाडौँको बहतिपोखरीस्थित छात्रवासमा विद्यार्थीको शंकास्पद मृत्यु भएको भन्दै अभिभावक र विभिन्न संघ संगठनले आन्दोलन गरेपछि पठनपाठन बन्द भएकोमा पटक–पटकको छलफलपछि आजबाट नियमित पढाई शुरु भएको हो ।
गत दुई वर्षदेखि सो छात्रवासमा बस्दै आएका धादिङको नेत्रावती गाउँपालिका–५ का १४ वर्षीय अभिषेक तामाङ जेठ १६ गते मृत भेटिएका थिए । राती पौने २ बजे छात्रवासको पहिलो तलाको फलामको डबल डेकर खाटको डण्डिमा हरियो रंगको कराते बेल्टको पासो लगाएर उनले प्राण त्यागेका थिए ।
तर, उनको मृत्युमा विद्यालयको लापरवाही देखिएको भन्दै आफन्तले शव बुझ्न अस्विकार गरेपछि स्कुल बन्द भएको थियो । अस्ति बेलुकी १६ नम्बर वडा कार्यालयमा स्थानीय बुद्धिजीवी, मृतकका आफन्त, प्रहरी र वडाका प्रतिनिधिबीच छलफल गरि मुद्दा प्रक्रिया अघि बढाउने सहमति गरेपछि आज शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगियो । त्यसपछि विद्यालय पनि खुलेको बताइएको छ ।
टिप्पणीहरू