सार्वजनिक यातायातका साधन सफा र चिटिक्क नपारे कारबाही
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आगामी साउन १ गतेदेखि सार्वजनिक यातायातका साधनको अनिवार्य रुपमा सरसफाई गर्नुपर्ने अन्यथा कारबाही गरिने जनाएको छ ।
महासंघका महासचिव भरत नेपालले यातायात व्यवस्था विभागद्धारा यातायात निर्देशिका २०७४ संशोधन २०८० मार्फत तय भएको नीति नियमअनुरुप सार्वजनिक सवारी साधन सफा राख्न निर्देशनसहितको चेतावनी दिएका हुन् ।
आज जारी सूचनामा असार १ गतेदेखि उक्त नीति नियम कार्यान्वयनमा लैजान सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अनुगमनको क्रममा सोबमोजिम कार्यान्वयन गरेको नपाइएमा दण्ड, जरिवानासमेत गरिने बताएका छन् ।
साथै, लामो दूरी, मध्यम दूरी, छोटो दूरी र सहरी (लोकल) रुटमा समेत मुलुकभरका यातायात कम्पनी तथा व्यवसायी र मजदुरहरुलाई पनि सोबमोजिम गर्न भनिएको छ ।
‘सरकारले सार्वजनिक यातायात क्षेत्रलाई स्वास्थ्य र पर्यावरणसंग जोड््दै यातायातका सवारीसाधनहरु सफा र सवारी साधनमा कार्यरत चालक सहचालकले समेत सफा भएर सम्बन्धित कम्पनीको परिचयपत्र, लोगो अंकित ड्रेससहित सवारी सञ्चालन गर्ने गरी यातायात व्यवस्था विभागद्वारा यातायात निर्देशिका २०७४ संशोधन २०८० मार्फत तय भएको नीति नियमअनुरुप यही असार १ गतेबाट कार्यान्वयनमा लैजाने जानकारी सम्बन्धित निकायले गराइसकेकाले तदनुरुप मानव स्वास्थ्य, पर्यावरण, सरसफाई र सुरक्षासँग जोडिएका विषयहरु कार्यान्वयन गर्न गराउन लामो दूरी, छोटो दूरी र सहरी (लोकल) रुटमासमेत सबै देशभरका यातायात कम्पनी प्रालि तथा व्यवसायी र मजदुरहरुमा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ आज प्रकाशित सूचनामा भनिएको छ, ‘साथै, सो कार्यान्वयन भए नभएका साउन १ गतेबाट सम्बन्धित निकायले हेर्ने र दण्ड जरिवाना समेत गर्ने हुँदा सोहीबमोजिम सो कार्यान्वयन गर्न अनुरोध गरिन्छ ।’
टिप्पणीहरू