सुरक्षाबारको तार काटेपछि मेयर बालेनलाई झट्का

सुरक्षाबारको तार काटेपछि मेयर बालेनलाई झट्का

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रतिबन्ध लगाउनेसम्मको चेतावनीयुक्त संकेत गरेको छ । काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सुरक्षार्थ लगाइएको फेन्सिङ तार काटेपछि प्राधिकरणले मेयरसँग कडा भाषामा स्पष्टीकरण सोधेको छ ।

महानगरले पूर्व जानकारीबिना फेन्सिङ तार काटिदिएपछि मेयरसहित तीन जनालाई स्पष्टीकरण सोधिएको हो । बालेनको निर्देनमा भएको उक्त कार्य कानुनविपरीत भएको प्राधिकरणको ठहर छ ।

स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं ९मेयर० को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

उक्त कार्यमा संलग्न भएकाले महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । नागरिक उड्डयनसँग सम्बन्धित कानुन उल्लंघन गरेको पुष्टि भएमा मेयरसहित तीनै जनालाई ५० हजार रुपैयाँसम्म जरिवाना र जरिवान नतिरेमा उडानमा प्रतिबन्ध लगाउन प्रचलित कानुनमा व्यवस्था छ ।

टिप्पणीहरू