ब्रिक्स सदस्यताको निम्ति धेरै मुलुक आतुर
स्रोत : सिन्ह्वा ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका संस्थापक सदस्य रहेको ब्रिक्स सहयोग संगठनको सदस्य बन्न विश्वका धेरै मुुलुक इच्छुक देखिएका छन् । एसिया, अफ्रिका, दक्षिण अमेरिका र केही युरोपेली मुलुकले ब्रिक्सको सदस्यता प्राप्तीमा विशेष चासो राखेको बताइएको छ ।
चिनियाँ समाचार समितिका अनुसार इजिप्टले आफ्नो सदस्यता अनुमोदनको निम्ति ब्रिक्समा निवेदन दर्ता गराएको छ । कायरोस्थित रुसी राजदूत जर्जी बोरिसेन्कोले रुसी समाचार समिति तासलाई दिएको अन्तर्वार्तामा उक्त पुष्टि गरेका हुन् ।
उता अल्जेरियाका राष्ट्रपति अब्देलमाद्जीद् टेब्बुनेले पनि आफ्नो मुलुक ब्रिक्सको सदस्य बन्न इच्छुक रहेको बताइसकेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गर्दै उक्त जानकारी गराएका हुन् । रुसी समाचार समिति स्पुतनिकका अनुसार सिरियाली अर्थमन्त्री कानान याघीले पनि ब्रिक्स र सांघाई सहयोग संगठनको सदस्यता प्राप्त गर्न आफ्नो मुलुक इच्छुक रहेको तथ्य बिहीबार खोलेका हुन् ।
उता दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोगमन्त्रीका अनुसार पछिल्ला दिनमा साउदी अरेबिया, इरान, युनाइटेड अरब इमिरेट्स, बहराइन, अर्जेन्टिना र इण्डोनेसियाले यसतर्फ विशेष चासो राखेका छन् ।
सन् २००९ देखि ब्रिक्सको वार्षिक शिखर सम्मेलनमा आर्थिक सहयोग र राजनीतिक समन्वयबारे छलफल हुने गरेको छ । यो वर्षको सम्मेलन आगामी अगस्तमा दक्षिण अफ्रिकामा हुँदैछ ।
टिप्पणीहरू