विवादित भुम्लु गाउँपालिकामा बजेटको नयाँ लफडा

विवादित भुम्लु गाउँपालिकामा बजेटको नयाँ लफडा

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा एक वर्षअघि आएको नयाँ नेतृत्व पटक पटक विवादमा तानिएको छ । विगतमा स्थानीयबाट आलोचित भएपनि अहिले वडाका जनप्रतिनिधिहरु नै स्थानीय सरकारमाथि खनिएका हुन् ।

वडामा पर्याप्त र प्रभावकारी बजेट तर्जुमा नगरेको भन्दै वडाका जनप्रतिनिधिहरुले पालिका प्रमुख प्रेमबहादुर भुजेलसहित दुई मन्त्रीमाथि आपत्ति जनाएका हुन् ।

विशेषगरी पालिकाको वडा नम्बर २, सिम्थलीमा पर्याप्त बजेटको व्यवस्था नगरिएकोमा वडाध्यक्ष सुजन भण्डारीले आपत्ति जनाएका छन् । उनले समाजिक सञ्जालमा सिलामे, सापिङ, सिम्थली र बेख्सिम्ले सडकको निम्ति ३० लाख रुपैयाँ मात्र छुट्याइएकोमा आक्रोश पोखेका हुन् ।

स्थानीय वडाको विकासमा पनपच्छे गरिएकोमा उनले सामाजिक सञ्जालबाट नेताहरुलाई सार्वजनिक बहिष्कार गर्नेसम्मको चुनौती नै दिएका छन् । लेखेका छन् ‘गाली खानुपर्ने हामी  तलको जनप्रतिनिधिबाट जति भने जति गरे पनि बजेट हाल्दैन । अब, हाम्रो पालामा समेत बाटो सहज नहुने हो भने हाम्रो कुनै औचित्य रहन्न यिनीहरुलाई सार्वजनिक रुपमा बहिष्कार गर्नुपर्छ अब यस्तै हो भने ।’

भण्डारीले पालिका अध्यक्ष प्रेमबहादुर भुजेल, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री  लक्ष्मण लम्साललाई बहिष्कारको चुनौती दिएका हुन् ।

भौतिक विकासमा आफ्नो वडालाई हेपिएको बताउँदै लेखेका छन्, ‘सिलामे–सापिङ–सिम्थली–बेग्सिम्ले सडक पिचको लागि २६ र १८ करोड भनेको अहिले पिच ५ किलोमीटर पनि सम्पन्न भएको छैन । अनि, अहिले ३० लाखले के गर्ने हो मान्य गोकुल बाँस्कोटा, लक्ष्मणज्यू ? अनि हबेली, सापिङ र सिम्थली–बेग्सिम्ले वाफल २० करोड यस्पाली र क्रमागतमा करिब १ अर्ब २१ करोड आउँदै छ भनेर गरेको प्रचार के हुँदै छ पालिका प्रमुख प्रेमबहादुर भुजेल बृहत् ​​​ज्यू ?“

यसअघि एक अर्ब २१ करोड बजेटको आश्वासन दिएका प्रमुख भुजेलको प्रचार झुठो भएको उनीहरुको ठहर छ । आश्वासन ठूलो दिने, कार्यान्वयन शून्यप्रायः भएकाले भण्डारीलगायत अन्य वडाका अध्यक्षहरुसमेत आक्रोशित बनेका हुन् ।

तर , स्थानीयले भने अध्यक्ष भण्डारीको उक्त कुरालाई आपत्ति गर्नुपर्ने कुरा नरहेको भन्दै बजेट बिनियोजनमा काङ्ग्रेसको पनि दोष रहेको टिप्पणी गरेका छन् ।

भण्डारी नेपाली काङ्ग्रेसबाट विजय भएका वडा अध्यक्ष हुन् । यसअघि भुम्लुको स्थानीय सरकार किर्ते हस्ताक्षर काण्डलगायत धेरै विषयमा विवादित बनेको थियो ।

टिप्पणीहरू