रेसुङ्गा र कोरियाली शहरबीच भगिनी सम्बन्ध
गुल्मीको रेसुङ्गा नगरपालिकाले दक्षिण कोरियाको इन्छन् महानगरपालिकासँग भगिनी सम्बन्धको प्रक्रिया थालेको छ । दक्षिण कोरियाको इन्छन् महानगरपालिकाका काउन्सिल चेयरमेन डा. हान सङ इललाई रेसुङ्गा नगरपालिकामा स्वागत गर्दै भगिनी सम्बन्ध स्थापनाका लागि विविध विषयमा छलफल गरिएको बताइएको छ ।
रेसुङ्गा भ्रमणमा रहेका इन्छन् महानगरपालिकाका काउन्सिल चेयरम्यानसँग दुई नगरबीच भगिनी सम्बन्ध र त्यसपछि हुनसक्ने कृषि, प्रविधि, पर्यटन र रोजगारीमा आदानप्रदानबारे छलफल गरिएको छ । महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न डा.इलको भ्रमण फलदायी रहने नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
उनीसँग विकास साझेदारी तथा द्विपक्षीय सहयोगका विषयमा छलफल प्रारम्भ गरिएको पन्थीले जानकारी दिए । भगिनी सम्बन्ध आर्थिक तथा प्रविधिको हिसाबले आवश्यक रहेको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण र अनुदान तथा सहयोग आदान–प्रदानका लागि महत्वपूर्ण हुने उनको विश्वास छ ।
डा.हानले भ्रमण सुखद् भएको उल्लेख गर्दै खुशी व्यक्त गरेका छन् । उनले रेसुङ्गामा सम्भावनाको खोजी गरिने बताएका छन् ।
टिप्पणीहरू