बझाङमै बितेका मन्त्रीलाई कोहलपुर पुर्याएपछि मृत घोषणा
बझाङमा भएको सवारी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहलाई हेलिकप्टरमा कोहलपुर पुर्याएर निधनको औपचारिक घोषणा गरिएको छ । नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर पुर्याएपछि मन्त्री सिंहको निधन भएको जानकारी दिइएको हो ।
यसअघि पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको मृत्युको घोषणा गरिएको थियो । दुर्घटनामा घाइते मन्त्रीका अंगरक्षक प्रहरी हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशीको कोहलपुरमा उपचार भइरहेको छ । मन्त्रीलाई कोहलपुर पुर्याउन गरिएको पहलका कारण सख्त घाइते भण्डारी र जोशीलेसमेत तत्काल उपचार पाएका हुन् ।
मन्त्री सिंहको निधनको घोषणा कोहलपुरमा ५ बजेर ३३ मीनेटमा गरिएको थियो । डडेलधुराबाट बझाङतर्फ जाँदै गरेको सवारी साधन दुर्घटनामा सिंहको आज दिउँसो निधन भएको हो ।
दुर्घटनास्थलबाट सदरमुकाम चैनपुरतर्फ लैजाँदै गर्दा डेउरा भन्ने बजारमा मन्त्रीको निधन भइसकेको बताइन्छ । घटनास्थलबाट अढाई किलोमीटर दूरीमा रहेको पोलिक्लिनिकमै उनलाई मृत घोषणा गरिएको तर उनी त्यहीँकै स्थानीय वकिल भएकोले दुर्घटनावारे जनता नभड्किउन् भनेर त्यहाँ केही नभनी नेपालगन्ज पुर्याइएको बताइन्छ । उध्दार गरेर ल्याउँदै गर्दा अलिकति बोलिरहेका मन्त्रीको पोलिक्लिनिकमा उपचारको क्रममा ज्यान गएको थियो ।
कानुनी पृष्ठभूमिका सिंह प्रदेश सांसद बन्नुअघि सदरमुकाम चैनपुरमा कतिपय मुद्दाको विषय र बहसमा जोडिएका थिए ।सडकबाट २५ मीटर तल नदी किनारको खोंचमा खसेको अवस्थामा गाडी फेला परेको हो । मन्त्रीको टोली हिजो धनगढीबाट हिँडेको थियो ।
उनी चढेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट खसेको हो । घटनास्थलको अवलोकनपछि स्थानीय प्रहरीले सम्भवतः चालक निदाएको कारण मोडमा स्टियरिङ्ग नकाटी सोझै गाडी भीरतिर खसेको अनुमान गरेको छ ।
टिप्पणीहरू