इखले माथि पुर्‍याएका होनहार नेपाली दलितहरु

इखले माथि पुर्‍याएका होनहार नेपाली दलितहरु

सीमान्तकृत समुदायबाट उठेर कान्छा सहसचिवको रेकर्ड राखेका मेखबहादुर मंग्रातीको रेकर्ड भत्काए यसपटक प्रदीप परियारले । यी दुबै प्रशासन सेवाका । प्रदीप शहरी विकास मन्त्रालयमा कार्यरत छन्, ३२ वर्षमै सहसचिव बने । पाँचथर जिल्ला चलाउँदै छन् । भनिन्छ, मनमा दृढ इच्छाशक्ति र संकल्प भए दुनियाँमा असम्भव भन्ने केही छैन । यो संसार नै जित्नेहरूको हो । तिनैको लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ इतिहासको पानामा । यो उनै मेखबहादुरको संघर्षको कहानी हो, जसले २३ वर्षमा खरिदार बनेर ३५ वर्षको उमेरमा सहसचिवको यात्रा तय गरेका छन् । 

३७ वर्षअघि जन्मिए सिन्धुलीको ढकालगाउँमा पिता भक्त र माता लीलावतीको कोखबाट । परिवारको कान्छो सन्तान, हुर्किए लाडप्यारमा । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै मुलुक त गणतन्त्रमा प्रवेश गरिसकेको छ । अनेकन् तन्त्र फेरिएर के गर्नु ? दलितलाई हेर्ने समाजको धारणा उस्तै छ । पितापुर्खाको नाममा जग्गा जमिन थिएन । शरीर जति घोटे पनि सदैव बुवा आमालाई पिरोलिरहन्थ्यो एउटै समस्याले– बिहान खाए बेलुका के खाऊँ, बेलुका खाए बिहान के खाऊँ ? धौधौ थियो हातमुख जोर्नै । कमजोर आर्थिक अवस्थाकै कारण दिदीहरूले पढ्न पाउनु भएन । मंग्राती जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारमा भर्ना भए । गरिवको कोखमा जन्म लिएपछि उसको भाग्यमा सुख सयल र रामरमाइलो नहुँदो रहेछ । पढाइभन्दा घरकै काममा बढी ध्यान दिनुपथ्र्याे । बुवाआमालाई सघाउनमै बढी केन्द्रित हुँदा पढाइमा कमजोर हुनु स्वाभाविकै हो । त्यसमाथि घरमा पढाइमा मद्दत गर्ने अरु कोही थिएनन् । कक्षा आठपछि पढाइले बिस्तारै लय समात्न थाल्यो । ०५९ सालमा एसएलसी, कक्षा ११ र १२ पनि त्यहीँबाट पार लगाएपछि नागरिकता लिने समय भयो । 

भनिन्छ नि चोट खाएरै बदलिन्छन् अक्सर मान्छेका पाइलाहरू । त्यही नागरिकता लिन जाँदा पाएको सास्ती र प्रशासकबाट व्यहोरेको भुक्तमानका कारण बदलिएको हो मेग मंग्रान्तीको जीवनको लक्ष्य । सर्टिफिकेट र नागरिकताको सिफारिसमा केही गडबड भएछ । मान्छेले जानी जानी गल्ती गर्दैन । नासु वा खरिदारमध्ये एक कर्मचारीले सातो लिएको कहिल्यै बिर्सदैनन् । ती कर्मचारीले दलित भन्दै तथानाम गाली बर्साए । गोलीले लागेको घाउको औषधि उपचार गरेर निको हुन सक्ला तर बचनको गोलीले लागेको घाउमा उपचार कुनै अस्पतालमा नहुँदो रहेछ । त्यही चोटकै कारण त आज उनी यहाँ छन् । दुनिँयामा ईख नभएको मान्छे र बिष नभएको सर्पको काम छैन । जिप्रकाका तिनै कर्मचारीको अप्रिय छेडखानीले मनमनै अठोट लिए कि यो कर्मचारीभन्दा पनि ठूलो पोष्टमा जागिर खाएर देखाउँछु । यही दृढसंकल्प मनमा लिएर स्नातक तहमा अध्ययनका लागि भर्ना भए सिन्धुली बहुमुखी क्याम्पसमा ।

गरिबकाे काेखमा जन्म लिएपछि उसकाे भग्यमा सुख सयल र रामरमाइलाे नहुँदाे रहेछ ।

जीवनमा एक छाक खाना दिनेभन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे । संगत गुनाको फल भनेझैं कलेज अध्ययन गर्दै दीपेन्द्र गिरीसँग दोस्ती बढ्यो । उनी तत्कालीन गाविस सचिव । उनैले लोकसेवा तयारी गर्न सुझाव दिए । एक वर्षसम्म घरबाट ननिस्की लगातार अध्ययनमा जुटे ? तिनताक अहिलेजस्तो च्याउसरी उम्रिएका लोकसेवा पढाउने इन्स्टिच्युटहरू नै कहाँ थिए र ? उसमाथि ट्युसन पढ्नलाई कहाँ थियो र पैसा ? ६ महिनापछि लोक सेवाको फाराम खुल्यो । ०६६ सालमा लोकसेवा लडे र सफलता हात लाग्यो । पहिलो पटकमै समावेशी र खुला दुवैतर्फ नाम निकाल्न सफल भए ।

पहिलो पोष्टिङ भयो सोलुखुम्बुको बाकु गाविस सचिवको रूपमा । करिब ६ महिना काम गरेपछि माघमा नायब सुब्बा भए । त्यहाँबाट पुरातत्व विभाग काठमाडौंमा काम थाले । अधिकृत पदको लागि फाराम खुलिसकेको थियो । निजामती सेवामा प्रवेश गरिसकेपछि सबैको लक्ष्य हुन्छ सचिवसम्म बन्ने । एक वर्ष फाराम नभर्ने योजना थियो तर साथीहरूले कर गरे । हतारै हतारमा परीक्षा दिए, नाम निस्कियो । यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

२३ वर्षमा निजामती सेवामा प्रवेश गरी अधिकृत बनेसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरमा सहायक सिडिओ भए । त्यहाँबाट जिप्रका मोरङमा दुई वर्ष घोटिए । दुई वटा जिल्ला प्रशासन कार्यालयमा रहेर काम गर्दा गृह प्रशासनबारे मूलभूत कुराको जानकारी लिइसकेका थिए । त्यहाँबाट स्थानीय विकास मन्त्रालयमातहत अमरगढी नगरपालिका डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि मन्त्रालयमै फिर्ता भए । त्यसपछि महालक्ष्मी नगरपालिका इमाडोलको प्रशासन शाखामा एक वर्ष रहे । साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा कार्यरत रहेर काम गरिरहेकै बेला उपसचिव नबनी एकै पटक सहसचिवमा नाम निकाल्न सफल भए । यसरी निजामती सेवामा प्रवेश गरेको १२ वर्षमै सहसचिव बन्न सफल भए । मुख्यमन्त्री कार्यालय मधेश प्रदेशमा १५ महिना बिताए । अहिले पाँचथर जिल्ला प्रशासन कार्यालय हाँक्ने जिम्मेवारी पाएका छन् । उनी त्यहाँ पुगेलगत्तै निवेदन लेख्न नसक्ने सेवाग्राहीहरूको मर्कालाई ध्यानमा राख्दै कोठा नम्बर १३ मा निःशुल्क लेखिदिने व्यवस्था मिलाएका छन् । बनाइसकेको पासपोर्ट १० बजेदेखि ३ बजेसम्म वितरण गरिँदै आएकोमा कार्यालय खुल्ने समयसम्म बाँड्ने गरी काम गरिरहेका छन् । 

कुनै समय थियो दलितहरू उच्च वर्गको नजरबन्दमा बस्नुपर्ने । तर, समयले विस्तारै कोल्टे फेर्दै छ । अहिले समयसँगै विस्तारै जातीयताका कुरा हट्दै छन् । दलित समुदायमै पनि केही व्यक्ति यस्ता छन्, जसले डटेर अघि बढ्दा सफलता हात पार्न सफल भएका छन् । मानबहादुर वि.क. पहिलो दलित सचिवको रूपमा काम गरेर रिटायर्ड भइसक्नुभएको छ । सीता परियार पहिलो दलित महिला सहायक सिडिओको रूपमा केही समयअघि भक्तपुर जिल्ला हाँक्ने जिम्मेवारीमा हुनुहुन्थ्यो । यस्तै उपेन्द्र बिक उपप्राध्यापक, सीता नेपाली सामाजिक अभियन्ता, सुरेश सुनुवार, गगनसिं सुनारले दलित समुदायबाट पहिलो मेयर बनेर रेकर्ड राखिसक्नुभएको छ । 

निजामती सेवामा एक लाख १० हजार मात्रै कर्मचारी छन् । त्यसमध्ये सहसचिवको संख्या ६ सय ७० छ, जसमा दर्जनभन्दा बढीले ४० वर्षभन्दा कम उमेरमै प्रशासन हाँक्ने जिम्मेवारी पाएका छन् । उसो त प्रदीप परियार, गणेश पौडेलहरूले पनि मंग्रातीकै बाटो पच्छाएका छन् । शाखा अधिकृतबाट एकै पटक सहसचिवमा फड्को मार्ने अफिसरहरूमध्येमा पर्दछन् प्रदीप परियार, स्किम श्रेष्ठ, जानुका पण्डित, सरिता गौतम, रेखा दास र मेख मंग्राती । अहिले संघीय मामिला तथा सामान्य प्रशासन हाँक्ने हेमराज तामाङदेखि सुरेश पन्थी, गोगनबहादुर हमाल, विपिन आचार्य, हुमनाथ सुवेदी, अरुण काफ्लेलगायतका अफिसरहरू ४० वर्षभन्दा तलका कर्मचारी छन् । 

– निर्जला सुवेदी
 

टिप्पणीहरू