ताप्लेजुङमा एक सातामा तीनको मृत्यु, तीन बेपत्ता

ताप्लेजुङमा एक सातामा तीनको मृत्यु, तीन बेपत्ता

ताप्लेजुङमा पछिल्लो एक सताामा बाढी, पहिरोमा परेर तीन जनाको निधन, तीन बेपत्ता र तीन जना घाइते भएका छन् । जेठ मसान्तदेखि अस्तिसम्म जिल्लामा १३ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा क्षति भएको छ । सिदिङ्वा गाउँपालिका ६ मेहेल, ७ नम्बर वडाको सुरुम्खिम र सिरिजङ्गा, खेवाङमा दुई दुई वटा घर क्षतिग्रस्त भएका छन् । सिदिङ्वा ३, आङ्खोपमा ४ घर, सिरिजङ्गा ८ याम्फुदिन र मैवाखोला ३, साँघु तथा वडा न ४ साँघुमा एक एक वटा घर पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

पहिरोमा सिदिङ्वा मेहेलेका गणेश तामाङ, केशरबहादुर राई र सुरेश राईको मृत्यु भएको छ । मेहेलेकै एकाघरका भगिमायाँ बुढाक्षेत्री, सन्ध्या बुढाक्षेत्री र प्रज्ववल बुढाक्षेत्री बेपत्ता छन् ।

मैवाखोला हाईड्रोपावरमा कार्यरत भीमबहादुर तामाङ उपचारपछि घर फर्किएका छन् । सिदिङ्वा वडा नम्बर ६ का राजकुमार राईको विराटनगरमा र बिर्खबहादुर लिम्बूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

विपद् व्यवस्थापन समितिले बेपत्ताहरुको खोजी कार्यलाई निरन्तरताको साथै उक्त कार्यमा थप तीव्रता थप्ने निर्णय लिएको छ । सिदिङ्वा ७, मेहेलेमा एकाघरका तीन जना बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्थानीय बासिन्दा समेतलाई परिचालन गरी बेपत्ता सदस्यको खोजतलास कार्य जारी राख्ने विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै विपद् व्यवस्थापनमा संलग्न सबै निकायहरुले विपद्प्र तिकार्यका क्रममा आफुसँग उपलब्ध स्रोत, साधन र जनशक्तिको उल्लेख्य परिचालन र पूर्ण तयारीमा राख्ने निर्णय समेत भएको छ ।

बैठकले पूर्ण घर क्षति भएका परिवारलाई प्रतिपरिवार कम्तीमा छ बण्डल कर्कटपाता उपलब्ध गराईदिन कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरेको छ । त्यस्तै तीन दिनभित्र बाढी पहिरोबाट विस्थापितहरुको विवरण संकलन गरी सम्बन्धित स्थानीय तहमार्फत् जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने बैठकको निर्णयमा छ ।

समितिले बाढी पहिरोबाट मृत्यु भएका परिवारका नजिकका हकदार र पूर्ण, आंशिक तथा सामान्य क्षति भएका परिवारलाई मापदण्डबमोजिम तत्काल आर्थिक सहयाता उपलब्ध गराउने जनाएको छ । यस्तै आशिंक र सामान्य क्षति भएका परिवारलाई राहत उपलब्ध गराउन कोशी प्रदेश सरकारलाई  अनुरोध गरिएको छ ।

बैठकले घाइतेहरुको स्थानीय अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने र थप आर्थिक सहयाताका लागि कोशी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै तत्कालिन तथा दीर्घकालिन राहतका लागि नेपाल रेडक्रस सोसाईटीमार्फत रेडक्रसको अन्तराष्ट्रिय महासंघ, विश्व खाद्य कार्यक्रम, सेभ द चिल्ड्रेनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ
निकायलाई पनि अनुरोध गरिएको छ । पहिरोमा बासस्थानमा क्षति पुगेकामध्ये केही परिवार आफ्नै घरमा, केही परिवार आफन्तकोमा र केही परिवार आश्रयस्थलमा बसेकाले रेडक्रस सोसाईटीले तत्काल गैरखाद्य राहत सामग्री उपलब्ध गराउने भएको छ । अन्नपात क्षति भएका परिवारलाई तत्कालको निम्ति सम्बन्धित स्थानीय तहमार्फत् आवश्यक प्रबन्ध मिलाइने पनि समितिले जनाएको छ ।

टिप्पणीहरू