वर्षौंदेखि बेपत्ता तीन प्राध्यापकलाई त्रिविको १५ दिने पुर्जी

वर्षौंदेखि बेपत्ता तीन प्राध्यापकलाई त्रिविको १५ दिने पुर्जी

त्रिभुवन विश्वविद्यालयले एक सह–प्राध्यापक र दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । बिना जानकारी लामो समयदेखि गैरहाजिर तीन प्राध्यापकसँग त्रिविअन्तर्गत रजिष्ट्रार कार्यालय,कर्मचारी प्रशासन महाशाखाले स्पष्टीकरण मागेको हो । 

२०७९ जेठ २५ गतेदेखि ३६ दिन आधा तलबी बिरामी बिदामा बसेका पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. निर्मल पौडेल हालसम्म पनि हाजिर हुन नआएको महाशाखाले जनाएको छ । चिकित्सकको प्रमाण पेश नगरेको र कार्यालयमा पनि अनुपस्थित रहेको उल्लेख गर्दै महाशाखाले १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । 

‘त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ६५ बमोजिम समयपालना र नियमितताविपरीत काममा अनुपस्थित भएको र सोही नियमको ८४(१)(छ) को अभियोगमा कारबाही गर्न नियम ८२(ख)(१) अनुसार अनुपस्थित भएकै मितिदेखि तपाईंलाई सेवाबाट किन नहटाउने ?’, महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, २०७१ देखि २०७५ सालसम्म विद्यावारिधि अध्ययन प्रयोजनार्थ बिदामा रहेका पुल्चोक क्याम्पसका उपप्राध्यापक दिपेश लम्सालको पनि कुनै अत्तोपत्तो नलागेको महाशाखाको भनाइ छ । महाशाखाले उनलाई १५ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन गरेको छ । 

आफूलाई कारबाही गर्न नपर्ने कुनै ठोस कारण भए सोसहित उपस्थित हुन महाशाखाले भनेको छ । यता,त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक गोविन्द शर्मालाई ३५ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ । महाशाखाका अनुसार उनी २०७५ जेठ १० गतेदेखि बिना जानकारी कार्यालयमा अनुपस्थित भएका हुन् ।
 

टिप्पणीहरू