प्राध्यापक कुट्ने कांग्रेस कार्यकर्ता छुटाउन रोक

प्राध्यापक कुट्ने कांग्रेस कार्यकर्ता छुटाउन रोक

सर्वाेच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध चलाउनेले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न विपक्षीमा नाममा अन्तरिम आदेश जारी गरेको हो । 

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । 

गत मंगलबारको क्याबिनेट बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै चलाउनेले हिजो सर्वाेच्चमा रिट निवेदन दर्ता गरेका थिए ।  

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य,योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । तर,उक्त मुद्दा सरकारले फिर्ता लिएको छ ।

 

टिप्पणीहरू