राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा करको दुरुपयोग भयो : रघु पन्त

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा करको दुरुपयोग भयो : रघु पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयमा सल्लाहकार थुपारेका कारण करको दुरुपयोग भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत विनियाेजन विधेयकमाथि बोल्दै सांसद पन्तले अनावश्यक ढंगले सल्लाहकार राखिएकाले जनताले तिरेको करको दुरुपयोग भएको आरोप लगाएका हुन् । 

उनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक छैन । उनले भने, ‘राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री, मन्त्रिपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक छैन ।’

उपराष्ट्रपतिलेसमेत विदेश मामिला सल्लाहकार राखेकोमा असन्तुष्टी व्यक्त गर्नै सांसद पन्तले भनेका छन्, ‘उपराष्ट्रपति पदेन राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्यो ।’

छिमेकी भारतको उदाहरण दिँदै रघु पन्तले अहिलेसम्म त्यहाँ राष्ट्रपतिले सल्लाहकार नराखेको बताए । तर, हाम्रोमा राष्ट्रपतिलाई सात जना र उपराष्ट्रपतिलाई पाँच जना सल्लाहकार राख्न दिने कानुन बनाइएकोमा पनि उनको आपत्ति छ । 

‘राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् हो । उपराष्ट्रपति पदेन राष्ट्रियसभाका अध्यक्ष हुनुपर्छ । यसमा खर्च घटाउने गरी संशोधनमा राष्ट्रिय सहमति गरौँ । राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग हो ।’

टिप्पणीहरू