पूर्व पर्यटन मन्त्रीलाई नेपाल वायुसेवाको जवाफ

पूर्व पर्यटन मन्त्रीलाई नेपाल वायुसेवाको जवाफ

नेपाल वायुसेवा निगमले कर्मचारी संख्या र ग्राउण्ड ह्याण्डलिङ्ग सम्बन्धमा संसदमा उठेको विषयवारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले थला पर्न लागेको निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेपछि निगमले आज आफ्नो धारणा सार्वजनिक गरेको हो ।

भट्टराईले निगमलाई कति कर्मचारी आवश्यक भन्ने विषय मूल्याङ्कन गर्न आवश्यक रहेको उल्लेख गर्दै तीन हजार कर्मचारी भर्ना गरेर चार वटा जहाज सञ्चालन गरेको आरोप लगाएका थिए । सोही भनाइप्रति आपत्ति जनाउँदै निगमले अनावश्यक कर्मचारी भर्ती नगरिएको स्पष्ट पारेको छ । आज जारी विज्ञप्तिमा हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान,ग्राउन्ड ह्याण्डलिङ्ग,सबै क्षेत्रका स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ कर्मचारी रहेको उल्लेख छ ।

निगमले १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक (डोमेस्टिक) गन्तव्यमा हप्ताको २५ उडान भर्दै आइरहेको जानकारी पनि दिएको छ । योसँगै निगमको बेस स्टेशनहरुमा आवश्यकताअनुसार दुईदेखि तीन जना कर्मचारी राखेर सेवा सञ्चालन गरिरहेको उसको दाबी छ ।  

निगममा कूल कर्मचारीमध्ये ८४० जना स्थायी र करार ज्यालादारीमा ५०१ जना कर्मचारी छन् । तीमध्ये हवाई उडान सञ्चालनतर्फ स्थायी प्राविधिक ८८ र प्रशासनिक ३०१, करारमा प्राविधिक ३२ र प्रशासनिक २४ एवं मासिक ज्यालादारीमा प्राविधिक (सवारी चालक) ८९ र प्रशासनिक ६१ गरी जम्मा ५९५ कर्मचारी रहेको पनि स्पष्ट पारिएको छ । 

निगमले हप्ताको ६८ उडानको निम्ति कर्मचारी भार करिब नौ जना हुने गरेको हिसाब निकालेको छ । ग्राउन्ड ह्याण्डलिङतर्फ स्थायी प्राविधिक १०० र प्रशासनिक १६५, करारमा प्राविधिक ५५ र प्रशासनिक १ एवम् मासिक ज्यालादारीमा प्राविधिक १३, प्रशासनिक ६१ गरी कूल ३९५ कर्मचारी रहेको फेहरिस्त सार्वजनिक गरेको छ ।

निगमले दैनिक करिब ५१ वटा अन्तर्राष्ट्रिय उडानको ग्राउन्ड ह्याण्डलिङ कार्यअन्तर्गत चेक इन, लोडिङ,क्लिनिङ,ब्यागेज ह्याण्डलिङलगायत कार्य गर्दै आएकाले प्रतिउडान कर्मचारी भार करिब आठ जना हुन आएकोसमेत जानकारी गराएको छ ।

टिप्पणीहरू