जनप्रतिनिधिहरु पोशाक छनौटमा व्यस्त

जनप्रतिनिधिहरु पोशाक छनौटमा व्यस्त

मुलुकभरका ७५३ वटा स्थानीय निकायले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । अधिकांश पालिकाको बजेटको मुख्य स्रोत संघीय र प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड देखिएको छ । 

स्थानीय उत्पादन र त्यसको आम्दानीबाट प्राप्त राजश्व न्यून छ । उत्पादन र रोजगारी बढाउने सम्बन्धमा खासै पहल देखिँदैन । यसबीचमा विभिन्न स्थानीय निकायले जनप्रतिनिधिहरुको पोशाक तोकेका छन् । पोशाक एकरुपता बनाउने भन्दै प्युठान र भोजपुरमा जनप्रतिनिधिहरुले पोशाकको रंग तोकेर लगाएका फोटा सार्वजनिक गरिएको छ ।

प्युठानको सरुमारानी गाउँपालिकाले सबै जनप्रतिनिधिका लागि तोकिएको पोशाकको व्यवस्था गरिएको छ । पुरुषले लोगोसहितको नीलो कोट, सेतो सर्ट र नीलो पाइन्ट एवम् महिलाले तोकिएको रंगको सारी, ब्लाउज र नीलो कोट लगाएका छन् । 

सरकारी कर्मचारी र स्थानीयलाई जनप्रतिनिधिको रुपमा चिनाउन पोशाकको व्यवस्था गरिएको पालिकाले जनाएको छ । 

उता भोजपुरको पौवादुङमा गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि एउटै पोशाक लगाउन थालेका छन् । पुरुष जनप्रतिनिधिलाई आकाशे रंगको दौरा सुरुवाल र गाढा नीलो कोट, कोटमा राष्ट्रिय झण्डाको लोगो र कालो टोपी तोकिएको छ । महिलालाई पनि तोकिएको साडी र ब्लाउजमा नीलो कोट भनिएको छ ।

सरुमारानी गाउँपालिकाको हिजो सम्पन्न गाउँसभामा प्रतिनिधि सभाका सांसद सूर्य थापा प्रमुख अतिथि थिए ।

टिप्पणीहरू