राज्यको धन,आफ्नालाई पोस्ने मन

राज्यको धन,आफ्नालाई पोस्ने मन

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि छाएको छ । गत असार १ गते सार्वजनिक बजेटले सञ्चारअन्तर्गतको  विभेद गरेको पाइएको छ । मन्त्री मास्कीले मुख्यमन्त्री र आफूनिकट मिडियालाई पोस्ने खालको बजेट ल्याएको भन्दै त्यसको चर्को आलोचना भएको छ । 

काठमाडौंपछि नेपाली पत्रकारितामा मोफसलको राजधानी भनेर चिनिएको बुटवललाई समेत तुलनात्मक हिसाबले विगतमा भन्दा निकै कम बजेट दिएर विभेद गरिएको छ । आर्थिक मामिलामन्त्री मास्कीले आफ्नै प्रेस संयोजक दिपक बोहराका निजी सञ्चार माध्यमलाई तीन वटा शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गरेको पाइएको छ । 

बजेटमा दाङको तुल्सीपुर ५ स्थित अग्रिम साप्ताहिकको सञ्चार सामग्री खरिदको निम्ति १० लाख र सोही साप्ताहिकलाई सञ्चार उपकरण खरिद तथा स्तरवृद्धिको निम्ति अर्को १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै,अग्रिम साप्ताहिकद्वारा सञ्चालित लाइभ दाङ डटकमको सञ्चार माध्यमलाई सञ्चार सामग्री खरिदको निम्ति थप पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । अग्रिम साप्ताहिक र लाइभ दाङ डट कम दुबैका सञ्चालक तथा प्रधानसम्पादक आर्थिक मामिलामन्त्री धनबहादुरका प्रेस संयोजक दिपक बोहरा हुन् । 

अग्रिम साप्ताहिक र लाइभ दाङ डट कम दुइटा अलग अलग मिडिया देखाउँदै मन्त्रीले आफ्नै प्रेस संयोजक बोहराका मिडियालाई २५ लाख रुपैयाँ विनियोजन गरेर सत्ता र शक्तिको दुरूपयोग गरेको आरोप लगाइएको छ । त्यस्तै, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराई सम्पादक रहेको मिडियालाई पनि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । भट्टराई दाङको तुलसीपुर ६ बाट प्रकाशित हुने प्रदेश टुडेका सम्पादक हुन् । 

सरकारले प्रदेश टुडेका लागि पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार सामग्री खरिदको लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, अघिल्लो सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्मा सञ्चालक रहेको रोल्पाको रेडियो जलजलालाई यो वर्ष १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट विनियोजन गरिएको शीर्षकमा उक्त रेडियोको सामग्री खरिद तथा कार्यालय व्यवस्थापनको निम्ति उल्लेख छ । उक्त रेडियोलाई कुलप्रसाद केसीको पालामा समेत विभिन्न शीर्षकमा ६५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

त्यसैगरी बाँकेको कोहलपुरमा रहेको निजी रेडियो मिसनको लागि चार लाख रुपैयाँ विनियोजन गरिएको पाइएको छ । ठेगाना उल्लेख नगरी राखिएको उक्त बजेटमा रेडियोको स्तरोन्नतिका लागि भन्दै बजेट विनियोजन गरिएको छ । त्यसैगरी सञ्चालनमै नआएको बुटवलको सिग्नल मिडिया नेटवर्क प्रालिलाई पनि पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सिग्नल मिडिया रूपन्देहीबाट जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश सिके गुप्ता निकटका व्यक्तिको हो । 

रोल्पाको रुन्टीगढीमा रहेको रेडियो सूर्यमुखीका लागि १० लाख बजेट छुट्याइएको छ । यसैगरी कपिलवस्तुको रेडियो बुद्ध आवाज, मायादेवी, वाणगंगा, हर्टविट र बुद्धआवाज पत्रिकालाई उपकरण खरिदको निम्ति भन्दै १० लाख रुपैयाँ विनियोजन गरिएको छ । उता बाँकेको जानकी गाउँपालिका ३ स्थित मानव अधिकार सूचना तथा सञ्चार केन्द्रलाई १० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

सामुदायिक सञ्चार माध्यमको उपकरण खरिदका लागि भन्दै एकमुष्ठ रूपमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पाइएको छ । यस्तै प्रदेश सरकारले नेपाल मिडिया नेटवर्कका लागि १० लाख बजेट राखिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ ठेगाना भएको उक्त नेटवर्क अर्घाखाँचीमा अहिलेसम्म सञ्चालनमा आएको देखिँदैन । तर सोही नामको मिडिया काठमाडौंमा मात्र छ ।

प्रदेशमा सञ्चालनमै नरहेका मिडियाको नाममा लाखौं बजेट विनियोजन गरिएको भन्दै सरकारको व्यापक आलोचना भएको छ । नेपाल पत्रकार महासंघ तथा विभिन्न सञ्चार संस्थामा आवद्ध पत्रकारहरूले प्रदेश सरकारले सञ्चार क्षेत्रको बजेटबाट आफू निकटका निश्चित मिडियालाई मात्रै पोस्ने काम गरेको भन्दै आपत्ति जनाइसकेका छन्  ।

टिप्पणीहरू