समलिङ्गी विवाहको मान्यतापछि प्रेमको विजय हुने अमेरिकी धारणा

समलिङ्गी विवाहको मान्यतापछि प्रेमको विजय हुने अमेरिकी धारणा

सर्वोच्च अदालतले समलिङ्गी  विवाह दर्ता गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै काठमाडौंस्थित अमेरिकी राजदूतावासले खुसी व्यक्त गरेको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका जोडीहरुको विवाह दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि दूतावासले बधाई भनेको छ ।

उक्त फैसला वैवाहिक समानता र नेपालमा समलिङ्गी विवाहलाई मौलिक अधिकारका रुपमा मान्यता प्रदान गर्ने महत्वपूर्ण कदम भएको दूतावासको ठहर छ । आज जारी विज्ञप्तिमा दूतावासले भनेको छ, ‘आफूले प्रेम गरेको  व्यक्तिसंँग विवाह गर्ने स्वतन्त्रताबिना वैवाहिक स्वतन्त्रताको अर्थ हुँदैन भन्ने कुरा पुष्टि भएको छ ।’ 

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सबै नेपाली र अमेरिकीहरुले आफ्नो मौलिक अधिकारको पूर्ण प्रयोग गर्न पाउने उल्लेख गर्दै दूतावासले भनेको छ, ‘प्रेमको विजय हुन्छ ।’ समलिङ्गी विवाहलाई मान्यता दिइएकोमा अमेरिकाले खुसी व्यक्त गरिरहँदा नेपालमा भने मिश्रित प्रतिक्रिया आएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्चको उक्त आदेशलाई त्रुटीपूर्ण भनेका छन् ।

उनको विचारमा समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत भएकाले यसले पारिवारिक झमेला र सामाजिक विकृति फैलाउँछ । थापाको विचारमा विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो ।

सर्वोच्चको आदेशसँगै नेपाल दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने पहिलो मुलुक बनेको छ । सर्वोच्चले समलिङ्गी विवाह दर्ता गर्न सरकारको नाममा हिजो अन्तरिम आदेश जारी गरेको छ । यसअघि महिला र पुरुषको विवाह मात्र दर्ता हुँदै आएकोमा अब एउटै–एउटै लिङ्ग भएका व्यक्तिहरुबीचको विवाह पनि दर्ता हुने भएको छ ।

टिप्पणीहरू