अदालतका हाकिमलाई 'फरार' सुब्बाकाे लाखाैं अफर

अदालतका हाकिमलाई 'फरार' सुब्बाकाे लाखाैं अफर

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेललाई आफ्नो पक्षमा पार्नका लागि एक जना फरार अभियुक्तले मोटो रकम ‘अफर’ गरेको खुलासा भएको छ । नेपाल सरकारको फरार सूचीमा रहेका अर्थ मन्त्रालयका एक जना पूर्व नायव सुब्बाले लाखौं रूपैयाँको ‘ललिपप’ देखाएको र ह्वाट्सएपमा ५० लाख रूपैयाँसम्मको ‘डिलिङ्ग’ भएको संवाद सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीको डेस्कमा पुगेको छ । ती नासुसँग उनको पारिवारिक सम्बन्ध रहेको खुलेको छ । कट्टेलको सालो नाता पर्ने उनले आफूलाई जसरी हुन्छ जोगाइदिन आग्रह गरेका छन् । 

‘कन्भरसेशन’ मा फाइनल डिलबारे क्लियर त छैन । तर, जुन हिसाबमा कुराकानी भएको छ त्यसबाट पैसाको प्रसंग छेडिएको भन्ने देखिन्छ’, स्रोतले भन्यो । स्क्रिन सटसहितको गुनासो रजिष्ट्रार पन्थीको हातमा परेपछि अनुसन्धान अघि बढाउने तयारी थालिएको छ । स्रोतका अनुसार लिखित उजुरी पर्नेबित्तिकै पन्थी ‘एक्शन’ मा जानेछन् । जाँचपड्तालका लागि अनुसन्धन अधिकारी तोक्ने तयारीसमेत भैसकेको स्रोत बताउँछ । सुब्बाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परिसकेको बुझिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडविरुद्ध रिट निवेदन लिएर अदालत पुगेका सुब्बा फरार सूचीमा रहेको र उनलाई पक्राउ गर्न यसअघि नै पुर्जी जारी भइसकेको बल्ल खुलेको हो । 

सरकारवादी मुद्दामा फरार रहेका उनलाई पक्रन ‘अफिसियल नोटिस’ नै जारी भइसकेको हुनाले तारिख दिइएको थिएन । उनले आफ्नो पक्षबाट वारिस पठाए तर तिनले पनि बीचमै छोडिदिए । फोनमा लाखौंको ‘अफर’ गर्ने ती नासु भने आफ्नो कुनै गल्ती नभएको र पैसा नदिँदा टिप्पणी उठाएर केश बिगारिदिएको दाबी गर्दै ठाउँठाउँमा पुगिरहेका छन् । यता, रजिष्ट्रार पन्थीले भने ह्वाट्सएप म्यासेजको बारेमा कट्टेलसँग सोधपुछ गरेका छन् । कट्टेलले निवेदन दर्ता गरेर इजलासमा चढाइसकेको भनी जवाफ दिएको उच्चकी प्रवक्ता मन्दिरा शाहीले बताइन् । भ्रष्टाचार मुद्दा खेपिरहेका तत्कालीन नासु भीमकान्त भण्डारीले ह्वाट्सएपमा पैसाको अफर पठाएर रजिष्ट्रार कट्टेललाई हैरान पारेका छन् । आफ्नो मुद्दाको पेशी साउनमा पार्न उनले मुख्य रजिष्ट्रार कट्टेललाई केही समयअघि दबाब दिएका थिए । कृषि सामग्रीलगायत दुई÷तीन वटा मुद्दा खेपिरहेका भण्डारी विभिन्न मुलुकबाट मल आयात गर्ने तयारीमा छन् । 

उनी र हिमालयन होटलका मालिक राज भण्डारी मिलेर असार मसान्तभित्र ३०–४० करोड रुपैयाँको मल भित्र्याउने सहमति भएको छ । तर, मुद्दाले अप्ठ्यारो पार्ने भएपछि उनले साउनसम्मलाई पेशी सारिदिन भनेका हुन् । ‘कानुन सबैका लागि एउटै हो, जहिलेलाई मन लाग्यो पेशी सार्न सक्छु र ? एक दुई दिनको कुरा होइन, महिनौँ पछिका लागि पेशी सारिदिनुप¥यो भन्दै दबाब दिन्छ । मैले सक्दिन भनिदिएँ । आफ्नो इन्ट्रेस्टअनुसार काम नभएपछि मविरुद्ध अफवाह फैलाउने काम गरिरहेका छन्,’ उनले भने । भण्डारी ०६७ सालमा जेल परेका थिए । विदेश पठाइदिने आश्वासन देखाएर ठगी गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले पक्राउ गर्दा कट्टेलले नै ५० हजार रुपैयाँ दिएर छुटाएका हुन् । ‘मैले दिएको ५० हजार रुपैयाँ फिर्ता गरेकै छैन । म पनि होस् त भनेर चुप लागें । ५० को तीन प्रतिशत अहिले र बाँकी चेकमार्फत भन्दै सांकेतिक भाषामा मलाई म्यासेज पठाइरहेको छ’, उनले भने । 

को हुन् भीमकान्त भण्डारी ? 

ग्रामीण विकास शिक्षण प्रतिष्ठान, कलबलगुडी झापाका तत्कालीन नासु भीमकान्त भण्डारी छोटो समयमा अकुत सम्पत्ति जोड्ने सरकारी कर्मचारीमध्येमा पर्छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ का भण्डारीले जागिर खाएको चार वर्षभित्रै ६ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको भनी अख्तियारले २०७९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सरकारका पूर्वकर्मचारी उनले २०७७ असार ३० गते स्वेच्छिक अवकाश लिए । २०७३ असोज २१ गते सरकारी सेवामा प्रवेश गरेका उनी जागिर छोडेर विध म्यानेज्मेण्टको सञ्चालक बने । विभिन्न तस्करसँग मिलेर रासायनिक मल ल्याउने गरेका छन् । सुन तस्करीको आरोप लागेका रमेश शेर्पासँग मिलेर काम गर्दै आएका उनले गत वर्ष समयमै मल नल्याइदिँदा किसानको बिचल्ली भएको थियो । चार वर्ष सरकारी जागिरको दौरान शक्तिशाली मन्त्रीहरूको वरपर नै रहे ।

जागिर खाएको केही समयमै झापाबाट सरुवा मिलाएर काठमाडौं आएका उनी त्यसपछि यतै बसे । जागिरको क्रममा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगे । माओवादीबाट मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिव भएर काम गरे । सरकारवादी मुद्दा लागेका उनी प्रहरीको फरार सूचीमा छन् । शक्तिकेन्द्रसँग बलियो साँठगाँठ रहेकाले पनि उनलाई जोगाइएको अधिकांशको बुझाइ छ । विध म्यानेजमेण्टबाहेक उनको अन्य कम्पनीमा पनि धेरै लगानी छ । गत निर्वाचनताका सिसिटिभी क्यामेरा खरिदको ठेक्का पाएको विधले ठूलै घोटाला गरेको विषय बाहिर आएको थियो ।

टिप्पणीहरू