राप्रपा अध्यक्षमाथि खुश्बुलाई अनावश्यक भाउ दिएको आरोप

राप्रपा अध्यक्षमाथि खुश्बुलाई अनावश्यक भाउ दिएको आरोप

गत आमनिर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवार बनेकी खुश्बु ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नजिक्याएपछि पार्टीभित्र भाँडभैलोको लक्षण देखिएको छ । आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि खुश्बुलाई राप्रपा झापा जिल्ला कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासित गरेको थियो ।

त्यसपछि ओलीलाई अध्यक्ष लिङ्देनले विधि र विधानको धज्जी उडाँउदै पार्टीको असार १२ गते केन्द्रीय सदस्य र प्रशिक्षण विभागको उपप्रमुखमा नियुक्ति दिएपछि पार्टीभित्र मनोमालिन्य बढेको हो । लिङ्देनको उक्त निर्णयले पार्टीमा क्रियाशील रहेर काम गरिरहेका नेता तथा कार्यकर्ता समेत निराश भएको असन्तुष्टहरुको भनाई छ । 

‘अध्यक्षले जे गर्दा पनि हुँदोरहेछ, आफ्नै पार्टीको उम्मेदवारलाई हराउन बागी उम्मेदवार बन्ने ओलीलाई सबक सिकाउनुपर्नेमा क्रेनले उठाएर ल्याए जस्तै पदमा राखेपछि हामीमा अपमानित तथा लज्जाबोध भएको भएको छ,’ राप्रपाका एक केन्द्रीय सदस्यले भने, अध्यक्षको काम गराईले हाम्रो ऊर्जा घटेको छ, राजनीतिक भविष्यनै अन्यौल देखेका छौं ।’

पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुशी पार्नेहरु मात्र पार्टीमा हाबी भएमा सबै प्रणाली धराशायी हुने उनको दाबी छ । ‘उहाँको काम गर्ने पारा उदेकलाग्दो छ,’ ती नेताले भने, ‘एनि हाउ आफु आउ भनेर पार्टीका उम्मेदवारलाई एमालेसँग भिडाउनुहुन्छ, आँफु चाहिँ सेफ जोनमा खेल्दै त्यहि एमालेसँग एलायन्स गर्नुहुन्छ ।’ 

यता राप्रपाको झापा जिल्ला अध्यक्ष केशव ओझाले ओलीलाई कारबाहीको लागि सिफारिस मात्र गरिएको गोलमोटल जवाफ दिए । तर उनले निकालेको विज्ञप्तिमा साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उल्लेख छ । ओझाले भने, ‘खुश्बु ओलीजीले आत्मालोचना गर्दै पार्टीमा खट्छु हरेक गतिविधिमा सक्रिय हुन्छु भनेपछि केन्द्रीय अध्यक्षज्यूले पार्टीको जिम्मेवार पदमा मनोनीत गर्नुभएको हो । यसमा जिल्लाभन्दा केन्द्रको निर्णय नै उपयुक्त हुन्छ ।’

त्यसो त पार्टीको असार १०  गते बसेको केन्द्रीय कार्यसम्पादन बैठकमा अधिकांश सदस्यले पार्टी सञ्चालन गर्न दीर्घकालीन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्नसक्ने क्षमताको आवश्यकता पर्ने बताएका थिए । उनीहरुले पार्टी नेतृत्व चाकडी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकाङ्गी ढङ्गले अघि बढेको आरोप लगाउँदै अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाउँदै आलोचना गरेको बताइन्छ ।

टिप्पणीहरू