किसानलाई  असारे चटारो, नेतालाई फेसबुकमा फोटो टाँस्न हतारो

किसानलाई  असारे चटारो, नेतालाई फेसबुकमा फोटो टाँस्न हतारो

हिजो मुलुकभर राष्ट्रिय धान दिवस मनाइरहँदा सिन्धुपाल्चोकका किसानहरुलाई भने धान दिवस र रोपाइँ महोत्सवले छोएन । मुठी रोपेर मानो उब्जाउने मध्यअसारको धान दिवससँग उनीहरुको न लेना, न देनाको अवस्था छ । हुनपनि पाँच किलो मल समयमै उपलव्ध गराउन नसक्ने सरकार र नेताहरुले मनाउँदै आएको धान दिवससँग उनीहरुको अपेक्षा नै के रहन सक्थ्यो र ?

जिल्लाका खास किसानहरु धान रोपाइँको चटारोमा हतार देखिरहेका बेला अवास्तविक र स्थानीय सरकारका प्रमुख एवम् प्रतिनिधिहरुलाई भने धान दिवसले छपक्कै छोपेको पाइयो । हिजो धान दिवसको हवला दिँदै स्थानीय सरकारका प्रमुखहरु सुकिलो पोशाकमा धान दिवस मनाउन हिलाम्मे खेतमा पसेका थिए । 

तीमध्ये अधिकांशले धानको वीउ हातले च्यापेर फोटो खिचाए । कसै कसैले आफ्नै आइडीबाट सामाजिक सञ्जालमा फोटो पोष्टाए भने कसै कसैले राजनीतिक हुनमानलाई अह्राएका थिए । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ पनि हिजो बाजागाजासहित हिलाम्मे खेतमा पसे । सेतो सर्ट र पाइन्टमा हिलाम्मे खेतमा पसेका उनले धान रोपेझैँ गरे । केहीलाई हिलाम्मे खेतमा नै नचाएपछि उनी फर्केका हुन् । 

उहिलेको समयमा जिम्मावालहरुले बेठी लगाउँदा यसरी नै बाजागाजासहित धान रोपाइँ हुन्थ्यो । रोपाइँको निम्ति जिम्मावालको खेतमा गाउँभरिका मानिस ओइरिन्थे । विनाज्याला उनीहरुले खाजाको भरमा जिम्मावालको भएभरका खेतमा रोपाइँ गरिदिन्थे । 

अहिले त्यो प्रचलन लगभग हराएको छ । तर स्थानीय प्रमुखहरुले भने त्यही बेठी संस्कृतिलाई ब्युँताउँदै धान दिवस मनाउँदै आएका छन् । पुरानो जिम्मावालको अवतारमा स्थानीय जनप्रतिधिहरु प्रकट भएको बताउन थालिएको छ । त्यतिबेला जिम्मावालले खाजा खुवाए जस्तै अहिलेका जनप्रतिनिधिले पालिकाको बजेट स्वाहा गर्दै इच्छा लागेको खाजा खुवाउने गरेको पाइन्छ । 

यता इन्द्रावती गाउँपालिकाले पनि हालसम्म किसानको हितमा सिन्को नभाँचे पनि राष्ट्रिय धान दिवस धुमधामका साथ मनाएको छ । पालिका अध्यक्ष झम्क नेपाललगायत जनप्रतिधि, कर्मचारी, समर्थक र कार्यकर्ताले एउटै रंगको टिसर्ट लगाएर हिलाम्मे खेतमा पस्दै दिवस मनाइएका हुन् । लाठे मात्रको उपस्थिति देखिएको नक्कली रोपाइँमा रोपाहार भने थिएनन् । त्यहाँ पनि लाठेले नै धान रोपेर धमाका मच्चाएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पनि रुमाल जत्रो खेतमा ट्याक्टर चलाए ।  आलि उनले खेतमा आली लगाउँदै धान दिवस मनाएका हुन् । केही समर्थक र कर्मचारीको साथमा हिलो छ्यापाछ्याप गरेर दिवस मनाइरहँदा नजिकै आफ्नै धुनमा धान रोपिरहेका वास्तविक किसानलाई भने मेयर सापकोटाले मनाइरहेको दिवसले छोएको थिएन । बरु उनीहरु मेलो सकाउने हतारोमा देखिन्थे ।

वास्तविक किसानलाई धान दिवस कुन चराको नाम हो भनेर थाहा नहुन सक्छ । तर स्थानीय सरकारका प्रमुख एवम् प्रतिनिधिहरुलाई भने बाउसे गरेर, आलि मिलाएर र धान रोपेर नौटंकी गर्नमै भ्याइनभ्याइ देखिएको हो । यो रोग विगत वर्षदेखि स्थानीय सरकारमा मात्र होइन, प्रदेश, संघीय सरकार र केही सुकिलामुकिला व्यक्तिमा सल्कँदै आएको छ । 

तर जे जस्तो भएपनि किसानलाई पाँच किलो मल समयमा नै उपलव्ध गराउन नसक्नेहरुले धान दिवसको नाममा हिलाम्मे खेतमा नाटक गरिरँहदा अरुलाई नपचेको हो । उनीहरुले सेल्फी लिँदै धान दिवस मनाइरहँदा खेतमा धानको वीऊ रोपिरहेका वास्तविक किसानलाई धान दिवसले छोइ हालेपनि त्यसको के नै तुक रहला र ?

टिप्पणीहरू