काँग्रेसले पुस १० भुलेको छैन, सरकार बनाउन एमालेसँग मिल्दैनौँ : परराष्ट्र मन्त्री साउद

काँग्रेसले पुस १० भुलेको छैन, सरकार बनाउन एमालेसँग मिल्दैनौँ : परराष्ट्र मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न भैरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन डडेल्धुराले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास गरिरहेको बताउनुभएको हो ।

‘अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं । परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौं’, मन्त्री साउदले भन्नुभयो, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं ।'

संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निश्पक्ष किसिमले हेरिरहेको तर कुनैपनि सैन्य गठबन्धनमा समेल नहुने परराष्ट्र मन्त्री साउदले प्रष्ट पार्नुभयो । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उहाँको भनाइ छ । 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको उहाँले सुनाउनुभयो । ‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कूटनीतिक रूपमा प्राप्त गर्नुपथ्र्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उहाँले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत् सामाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ । त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ ।’

 फरक प्रसंगमा परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने पनि दावी गर्नुभएको छ । बाहिर चलेका हल्लामा कुनै सत्यता नरहेको उल्लेख गर्दै उहाँले नेपाली काँग्रेस एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको प्रष्ट पार्नुभयो ।

‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू