सबैभन्दा ठूलो नगरपालिकाको शैक्षिक आम्दानी जम्मा १५ सय !
-सन्तोष बराइली
क्षेत्रफलको हिसाबले मुलुककै सबैभन्दा ठूलो नगरपालिकाको एक आर्थिक वर्षको शैक्षिक क्षेत्रको आम्दानी जम्मा १५ सय रूपैयाँ ? एउटा नगरपालिकाको शैक्षिक क्षेत्रको यो आम्दानी आफैमा उदेकलाग्दो छैन त !
तर नगरपालिकाले यस आर्थिक वर्षको हालसम्म शैक्षिक क्षेत्रबाट प्राप्त कूल आम्दानी त्यतिमात्रै भएको जनाएको छ । नगरपालिकाले जनआस्थालाई उपलब्ध गराएको विवरणमा वैशाखसम्मको आम्दानी १५ सय रूपैयाँ उल्लेख छ ।
करारलाई डेढ करोड !
स्थानीय ऐन विपरीत जथाभावी सल्लाहकारहरू नियुक्त गरेर हास्यपात्र बनेका लहान नगरप्रमुख महेशकुमार चौधरीले करोडौं रुपैयाँ करार कर्मचारीलाई तलबको रुपमा वितरण गरेका छन् । वैशाखसम्म करार कर्मचारीहरुको नाममा झण्डै डेढ करोड तलबभत्ता वितरण गरेर हालसम्मकै नयाँ रेकर्ड बनाएको पाइन्छ ।
प्राप्त विवरणमा नगरपालिकाले चालू आर्थिक वर्षको वैशाख महिनासम्म करार सेवा शुल्क १ करोड ४० लाख ५६ हजार ८ सय ६६ रूपैयाँ वितरण गरेको उल्लेख छ । उक्त शीर्षकमा १ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
पत्रपत्रिकाका नाममा ब्रम्हलूट
अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म पत्रपत्रिका छपाई तथा सूचना प्रकाशनमा ५२ लाख ६० हजार ४ सय ९५ रूपैयाँ खर्च गरेको लहान नगरपालिकाले यो वर्ष सोही अवधिमा १ करोड ५० लाख वितरण गरिसकेको छ । वितरणको भित्री उद्देश्य आफ्नालाई पोस्ने नीतिमा आधारित रहेको कर्मचारीहरु बताउँछन् ।
संगिनी संगीताको नाममा पनि करोड !
संगीता कर्माचार्य मेयर महेश चौधरीकी कान्छी श्रीमती हुन् । एपोलो स्कूलमा कार्यरत संगीतासँग महेशको प्रेम विवाह भएको हो । ब्युटीसियन समेत रहेकी उनी दलित तथा गरिब समुदायकी उद्धारकर्ता तथा समाजसेवीको रुपमा परिचित थिइन् ।
कोरोना महामारीमा लहानका धेरै दलितलाई संगीता कर्माचार्य फाउण्डेसनमार्फत् राहत वितरण गरेर चर्चामा आइरहिन् । संगीता दम्पतीलाई उतिबेला मिडियामा चर्चा बटुल्न प्रोपोगण्डा गरेको आरोप लागेको थियो । तर दुःखको कुरो संगीताको कोरोना महामारीमा अप्रत्याशित निधन भयो ।
कतिपयले उनै संगीताप्रतिको स्थानीयको सद्भावले पनि महेश चौधरीले गत स्थानीय तहको चुनाव जितेको बताउँछन् । उनै स्वर्गवासी कान्छी श्रीमतीको नाममा खोलिएको संगीता कर्माचार्य अनाथ तथा वृद्वा आश्रमको नाममा मेयर चौधरीले १ करोड र सङ्गिता कर्मचार्य दलित उत्कृष्ट छात्रवृत्ति कार्यक्रमको नाममा २० लाख रूपैयाँ छुट्याएका थिए । तर औपचारिक कार्यक्रम नगरी सोही रकम हिनामिना गरिएको आशंका छ ।
त्यस्तै मेयर चौधरीमाथि स्वास्थ्यसम्बन्धी कार्यक्रम शीर्षकमा १ करोड ६० लाख, कृषि कार्यक्रमका नाममा १ करोड २५ लाख रूपैयाँ कानुनी सल्लाहकारसँग मिलेर तलमाथि गरेको विपक्षीहरुको आरोप छ । सिरहाका प्रदेश सांसद ललिता दास (विद्रोही) ले मेयर चौधरीले दलित समुदायका नाममा व्यापक अनियमितता गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेको बताइन्छ । उनै सांसद भन्छिन्, ‘मेयर महेश चौधरीले गरेका अनियमितताका यथेष्ठ प्रमाणसहित अख्तियारमा उजुरी हालेकी छु । यथाशिघ्र अनुसन्धानको प्रतिक्षामा छु । अनुसन्धान अघि नबढाए अख्तियारको गेटमै धर्ना दिने छु ।’
टिप्पणीहरू