स्थानीयको विरोधपछि मूलपानीको नाम अर्कै राख्ने निर्णयबाट पछि हट्यो क्यान
नेपाल क्रिकेट संघ (क्यान) मूलपानी क्रिकेट रंगाशालाको नाम फेर्ने निर्णयबाट पछि हटेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मा रहेको उक्त क्रिकेट रंगशालाको नाम फेरेर व्यक्तिको नाम राख्न खोजेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएपछि क्यान नाम फेर्ने कदम सच्याउने निर्णयमा पुगेको हो । अध्यक्ष चतुरबहादुर चन्दले स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर मात्रै नामाकरण गरिने बताए ।
'कागेश्वरी मनोहरा नगरपालिका तथा नगर प्रमुखको अनुरोधमा स्थानीय राजनीतिक दलका नेतागण, बुद्धिजीवी, भद्र भलाद्मी, स्थानीय युवा, क्रिकेटप्रेमीहरु तथा अन्य सरोकारवालाहरुसँग आवश्यक छलफल गरी सहमतिमै मूलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानको नामकरण गरिने प्रतिवद्धता व्यक्त गरेको व्यहोरा जानकारीको लागि अनुरोध छ', उनले भनेका छन् l
क्यानको गत बैशाख १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले माथिल्लो क्रिकेट रंगशालाको नाम परिवर्तन गरी क्यानका स्वर्गीय पूर्वअध्यक्षको सम्मानमा 'जयकुमार नाथ शाह मूलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान' राख्ने निर्णय गरेको थियो । तर, कागेश्वरीको पहिचान मेटाउने गरी व्यक्तिको नाममा रंगाशाला नामाकरण गरिएको भन्दै त्यहाँका स्थानीयले विरोध जनाएका थिए ।
आज बिहान स्थानीयहरुले क्यानको कार्यालय घेराउ गर्दै निर्णय सच्याउन माग गरेका थिए ।
टिप्पणीहरू