न्यायको मन्दिरमा कहिले वकिल हडताल,कहिले कर्मचारीको बबाल

न्यायको मन्दिरमा कहिले वकिल हडताल,कहिले कर्मचारीको बबाल

मुद्दाको मिसिल र आदेश हेर्न नदिएको झोंकमा रिस थाम्न नसक्दा ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि कानुन व्यवसायीले कार्यकक्षभित्रै मुक्का हाने । नायव सुब्बा प्रेमिका तामाङको अनुहारमा अधिवक्ता अमिर लामिछानेले गत बुधबार दिउँसो मुक्का प्रहार गरेका हुन् । 

घटनाका प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार दिउँसो साढे ४ बजेको समयमा लामिछानेले तामाङको मुखमा एकाएक मुक्का हानेको र मुद्दाको मिसिल अनि आदेश हेर्ने नाममा बाहिर लान खोजेपछि रोक्न खोज्दा आवेगमा आएको आरोप छ । ‘फाँटबाट तामाङ म्याडमले हुन्न भन्दाभन्दै मिसिलै उठाएर बाहिर लान खोजेछन्,मिसिल तान्न खोज्दा अधिवक्ता लामिछानेले मुखमा मुड्कीले हानेका हुन्,’ ती कर्मचारीले जानकारी दिँदै भने । लामिछानेको मुक्काका कारण नायव सुब्बा तामाङको तल्लोपट्टीका दुईवटा दाँत हल्लिएको छ भने ओंठमा चोट पुगेको जनाइएको छ । 

फांँटमा भीडभाड हुने भएकाले कर्मचारी तामाङले कानुन व्यवसायीलाई मुद्दाको नक्कल सारेर हेर्न आग्रह गरेकी थिइन् । त्यसपछि अधिवक्ता लामिछानेले एकाएक आक्रोशित हुँदै रौद्र रुप देखाएका हुन् । ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै तामाङको मुखमा मुक्का हानेको र महिला कर्मचारीलाई फाँटभित्रै पसेर लछारपछार गर्न तम्सिएको समेत बताइन्छ । सरकारी पोशाकमा रहेकी तामाङको सेतो कमिजको बाहुला कुहिनोदेखि नाडीसम्म च्यातिएको छ । 

कर्मचारीमाथि हातपात र अभद्र व्यवहार भएको देखेपछि अदालतमा रहेका प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएका थिए । अदालत परिसरबाट भाग्न खोज्दै गर्दा लामिछाने समातिए । घाइते कर्मचारी तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुनी कारबाहीका लागि बुधबारै जाहेरी दिइन् । पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादी समेत भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेस रहेका लामिछानेले तारेख लिने क्रममा मिसिल तान्न खोज्दा विवाद भएको बताइन्छ । 

अधिवक्ता लामिछानेविरुद्धको जाहेरीमा लेखिएको छ, ‘आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा ‘मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेकोमा निजले ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपातगर्दा मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको हुँदा मेडिकल जाँच समेत गराई निजलाई पक्राउ गरी कारबाही अगाडि बढाइ पाउँ ।’ 

कानुन व्यवसायी लामिछानेले हातपात गरेपछि देशभरका अदालतमा कर्मचारीले आज हड्ताल गरेका छन् । कर्मचारी संगठनको हड्तालका कारण अदालतमा मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही भने मर्कामा परेका छन् ।

टिप्पणीहरू