कृषि विकास सहकारीले बचत फिर्ता नगरेपछि निक्षेपकर्ता सडकमा, जायजेथाबाट असुलउपर गर्ने

कृषि विकास सहकारीले बचत फिर्ता नगरेपछि निक्षेपकर्ता सडकमा, जायजेथाबाट असुलउपर गर्ने

ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुले संघर्ष समिति गठन गरेका छन् । 

सहकारीले महिनौंदेखि निक्षेप फिर्ता नदिएको विरोधमा एकजुट भएर आवाज उठाउनका लागि निक्षेपकर्ताहरुले संघर्ष समिति गठन गरेका हुन् । ११ महिनादेखि पटक–पटक आफ्नो निक्षेप फिर्ता माग्दा पनि सहकारीका अध्यक्ष तेजविक्रम थापाले चासो नदेखाएपछि बाध्य भएर समिति गठन गर्नुपरेको पीडित सुहाना केसीले बताइन् । 

कार्यालय सञ्चालनमा रहेपनि लामो समयदेखि एक रुपैयाँ पनि फिर्ता नदिएको उनको भनाइ छ । ‘त्यहाँ बचत गर्ने कसैले ११ महिनादेखि एक रुपैयाँ पनि पाउनुभएको छैन् । दिनहुँ सहकारी जान्छौं, दिनभर कुर्छौं अनि फर्किन्छौं । अहिले सबैजसो सहकारीमा समस्या छ, त्यो हामी पनि बुझ्छौं । तर, कहाँ लगानी छ, के कारणले समस्या आयो, यो त भनिदिनुपर्यो नि’, उनले भनिन् । 

सहकारी विभागले सहकारीको लगानीको विवरण माग गरेपनि अध्यक्ष थापाले अटेर गरेको उनी बताउँछिन् । उनका अनुसार थापाले चैत मसान्तभित्र सबै समस्या सुल्झाएर निक्षेप फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । 

तर, समस्या समाधानमा कुनै चासो नदेखाएको पीडित केसीको गुनासो छ । हिजो गठन गरेको समितिले सहकारीको नाममा रहेको जायजेथा-अचल सम्पत्तिको तथ्याङ्क संकलन गर्ने र सामूहिक रुपमा दाबी पेश गरेर निक्षेपकर्ताहरुको निक्षेप असुलउपर गर्ने निर्णय गरेको छ । 

साथै, सहकारीकै कार्यालयमा एउटा कोठाको व्यवस्था गरेर सहकारीको दैनिक गतिविधि सूक्ष्म रुपमा हेर्नेलगायतका प्रस्ताव गरिएको पीडित केसीले जानकारी दिइन् । उक्त सहकारीमा झण्डै आठ हजार बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी निक्षेप छ । सहकारीमा जम्मा गर्नेहरु लगनखेल, जाउलाखेल, मंगलबजारका स्थानीय हुन् ।

 

टिप्पणीहरू