सहकारीको ऋण चुक्ता नगर्नेलाई सरकारी सेवा सुविधाबाट वञ्चित गराइने
पोखरा महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरुलाई कारबाही गर्ने भएको छ । महानगरपालिकाले ऋण तिर्न अटेर गर्ने खराब ऋणीहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । ऋण तिर्न पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि कारबाही गर्न थालिएको महानगरपालिकाको सहकारी शाखाले जनाएको छ ।
ऋणीहरुले निर्धारित समयभित्रै ऋणको साँवाब्याज चुक्ता नगरिदिँदा सहकारी संस्थाहरु एकदमै समस्यामा परेको शाखाको भनाइ छ । समाजमा ऋण तिर्न नपर्ने वा नतिर्नेजस्ता वित्तिय अराजकता देखिएको उल्लेख गर्दै शाखाले त्यस्ता गतिविधि नियन्त्रण गर्न कठोर कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
‘पोखरा महानगरपालिका नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी, शेयर सदस्यहरुलाई समयमै ऋणको साँवा, ब्याज, किस्ता भुक्तानीका लागि हार्दिक अनुरोध गर्दछौं’, जारी सूचनामा भनिएको छ, ‘निर्देशन विपरीत कार्य गरेमा पोखरा महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० बमोजिम जायजेथाबाट असुलीका लागि प्रक्रिया अगाडि बढाउनुका साथै पोखरा महानगरपालिकाद्वारा प्रदान गरिने सेवासुविधा रोक्का गरिने व्यहोरासमेत जानकारी गराइन्छ ।’
त्यस्तै, शाखाले निक्षेपकर्ताहरुलाई होहल्लाको पछाडि नलाग्न आग्रह गरेको छ । वास्तविक कारण बुझेर मात्र निक्षेप फिर्ता माग्न शाखाले भनेको छ । यता, सञ्चालक र व्यवस्थापनहरुलाई आफ्ना सदस्यसंग सम्पर्कमा रहिरहन र विश्वासको वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ । निक्षेप फिर्ता नपाएका निक्षेपकर्ताहरुलाई संयमित भई कानुनबमोजिम उजुरी गर्न सुसूचितसमेत गराइएको छ ।
टिप्पणीहरू