कास्की प्रशासनको आग्रह - बिचौलियाले दु:ख दिए सिडियोलाई फोन गर्नुस्
जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवा प्राप्तिमा सहजीकरण गरिदिने नाममा बिचौलिया बनेर सेवाग्राहीबाट पैसा असुल्नेहरुलाई कारबाही गर्ने भएको छ ।
सेवाग्राहीहरुको बढ्दो चापको फाइदा उठाउँदै बिचौलियाहरुले काम छिटो गरिदिने प्रलोभन देखाएर पैसा उठाउने गरेको जनगुनासो बढेपछि प्रशासन कार्यालयले यस्तो चेतावनी दिएको हो । नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचय पत्रलगायत नियमित सेवा प्राप्तिमा सहजीकरण गरिदिने भनी अनुचित लाभ लिन खोज्नेहरुसँग सतर्क रहन प्रशासनले सेवाग्राहीलाई सतर्क पनि गराएको छ ।
‘यस कार्यालय परिसरमा प्रवेश गरी अनुचित लाभ उठाउने कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम सख्त कारबाही गरिने व्यहोरासमेत यसै सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराईन्छ’, प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बिचौलियालाई कार्यालय परिसरभित्र पूर्ण रुपमा निषेध गरिएको जानकारी दिँदै सेवाग्राहीलाई प्रलोभनको पछाडि नलाग्न आग्रह गरे ।
त्यस्तै, कार्यालयमा सेवा लिन आउँदा कोही–कसैले गलत ढंगले प्रभाव पार्ने, काममा सहजीकरण गरिदिने प्रलोभन देखाउनेजस्ता कार्य गरेको भेटिएमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई सिधा सम्पर्क गर्न सूचनामा भनिएको छ ।
टिप्पणीहरू