जनप्रतिनिधिहरुले खाएको खाजाको पैसा नतिरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी
मुगुको सोरु गाउँपालिकाको कार्यालयमा व्यवसायीहरुले तालाबन्दी गरेका छन् ।
कार्यालय प्रयोजनका लागि लिएको सामग्री तथा खाजा खर्चको रकम भुक्तानी नदिएको भन्दै हिजो दिउँसोदेखि होटल व्यवसायीहरुले तालाबन्दी गरेका हुन् ।
पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले निवर्तमान जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय प्रयोजनका लागि लिएको विभिन्न सामग्रीको हालसम्म भुक्तानी नदिएका कारण व्यवसायीहरुले तालाबन्दी गरेको बताए ।
‘निवर्तमान जनप्रतिनिधि तथा कर्मचारीहरुले कार्यालय प्रयोजनका लागि विभिन्न सामग्री खरिद गरी हालसम्म भुक्तानी नदिएको भन्दै होटल व्यवसायी तथा पसलेहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्,’ उनले भने, ‘हिजो दिउँसो ३ बजेदेखि उहाँहरुले कार्यालयमा ताला लगाउनुभएको थियो । तर, अहिले सहमतिमा खुलेको छ ।’
उपाध्यक्ष शाहीका अनुसार त्यस विषयमा छानबिन गर्ने सहमति भएपछि व्यवसायीहरु ताला खोल्न तयार भएका हुन् ।
टिप्पणीहरू