ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ

ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा थप दुईजना समातिएका छन् ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आज डिल्लाबजार मातपोत कार्यालयका तत्कालिन नासु योगराज पौडेल र खरिदार नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो । दुवै जनामाथि सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । 

यी दुई जना समातिएसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । अस्तिमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत समातिएका थिए । 

त्यसअघि सिआइबीले गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, बाबुराजा महर्जन, तत्कालीन वडासचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्कीलगायतलाई पक्रेको थियो ।  

त्यस्तै, भाटभटेनी सुपरमार्केटका मालिकसहित चारजना शुरुमा पक्राउ परेका थिए । जसमध्ये तीनजना अदालतको अन्तरिम आदेशका कारण समातिएको भोलिपल्टै छुटेका थिए । 

यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । 

सयौँ रोपनी सरकारी जग्गा हिनामिना गरिएको उक्त प्रकरणमा पक्राउ परेकाविरुद्ध सरकारी कागजात किर्ते कसूरमा मुद्दा चलाउने सिआईबीको तयारी छ ।
 

टिप्पणीहरू