नेपाली कमरेडहरूले केरला–क्युबाबाट के सिक्ने ?
२०७८ मंसिरमा जनआस्थामा मेरो लेखको शीर्षक थियो– ‘नेपाली कमरेडहरूको कमजोर कम्युनिष्ट कूटनीति’ । उक्त लेखको आशय कम्युनिष्ट कूटनीतिमा नेपाली कमरेडहरूको खराब प्रदर्शनी झल्काउनु थियो । खासगरी लगालग दुई पटक केरलामा मुख्यमन्त्री जित्नेगरी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) को पोलिटव्युरो सदस्यसमेत रहेका पिनारायी भिजायान मुख्यमन्त्रीमा दोहोरिएको र उनलाई विश्वभरबाट बधाई आएको तर नेपालबाट नगएको प्रसंग उक्त लेखमा थियो । चालिस वर्षमा पहिलोपटक लगालग दुईपटक कम्युनिष्ट सरकार बन्दा चीनदेखि पाकिस्तानका कम्युनिष्ट पार्टीहरूले औपचारिक पत्र पठाएर बधाई दिएकोमा नेपालका कसैबाट पनि बधाई गएको देखिएन । अरु त अरु आयरल्याण्डसम्मका कम्युनिष्ट नेताहरूले औपचारिक बधाई पत्र दिँदा पनि नेपाली कमरेडहरूले दिएको कुनै तथ्यांक आएन । खासगरी भाकपा (माक्र्सवादी) को मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ को अंकमा बधाई आएका विभिन्न कम्युनिष्ट पार्टीका नेताहरूको सूचीभित्र नेपाल अटेन । नेपाली कम्युनिष्टलाई विश्वभरको चासो भए पनि छिमेकी देशको एक मात्रै शक्तिशाली कम्युनिष्ट सत्ताप्रति कुनै चासो नभएको त्यसले देखाएको थियो । नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्ना महाधिवेशनमा बाहेक अरु बेला बाहिरका कम्युनिष्ट पार्टीको कार्यक्रमबारे कुनै चासो नराखेको वा चासो राख्ने तहको जनशक्ति र दक्षता नभएको त्यो घटनाले देखाएको थियो ।
यो आलेखमा पुनः कम्युनिष्ट कूटनीतिबारे चर्चा गरिएको छ । हालसालै केरलाका मुख्यमन्त्री पिनारायी भिजायान कम्युनिष्ट कूटनीतिकै सिलसिलामा क्युवा पुगे । हवाना पुगेर त्यहाँका अधिकारीहरूदेखि राष्ट्रपति मिगेल दियाल कनेलसम्म भेटे । भेटमा सार्वजनिक शिक्षादेखि स्वास्थ्यलगायत क्षेत्रमा क्युवा देश र केरला प्रदेशका बीचमा सहकार्य हुन सक्नेबारे छलफल भएको थियो । जेठ ३०, ३१ र असार १ गते उनी क्युवामा रहे । जेठ ३० गते अमेरिकाबाट क्युवाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । भारतीय राजदूत र हवानाका उपगभर्नरले उनलाई विमानस्थलमै स्वागत गरे । केरला सरकारका अर्थमन्त्री केएन् बालगोपाल र स्वास्थ्यमन्त्री भिना जर्ज सहभागी डेलिगेसनले क्युवामा डेलिगेसन तहमा छलफल गरेको थियो । छलफलमा एक अर्कोको सार्वजनिक स्वास्थ्य सुधारबारे अनुभव र ज्ञान आदानप्रदान गर्नेबारे छलफल भयो । क्युवामा आयुर्वेदिक उपचार केन्द्र स्थापनानिम्ति केरलाले सहयोग गर्नेबारे पनि सल्लाह भयो । राष्ट्रपति मिगेल दियाज कनेजसँगको छलफलमा स्वास्थ्य, खेलकुद र बायोटेक्नोलोजी क्षेत्रमा सहकार्य गर्न सक्ने कुरा उठ्यो । सार्वजनिक स्वास्थ्यका निम्ति विश्वमै नामी छ क्युवा । संसारका सबैजसो विपत्तिमा क्युवाली डाक्टरहरू पुगेका छन् । आफ्नो अमिट छाप छाडेका छन् । यस्तै भारतको सार्वजनिक स्वास्थ्य र शिक्षामा नामी छ केरला । सहकार्य र अनुभव तथा ज्ञान आदानप्रदानले दुई पक्षलाई नै फाइदा हुने देखिएको छ ।
केरलाका वामपन्थी मुख्यमन्त्री र क्युवाका वामपन्थी राष्ट्रपतिको कूटनीतिलाई धेरैले चर्चा गरेका छन् । कसैले पाराडिप्लोमेसी भनेका छन् त कसैले सबनेशनल डिप्लोमेसी भनेर चर्चा गरेका छन् । अझ रोचक कुरा त क्युवा पुग्नुअगाडि मुख्यमन्त्री अमेरिकामा थिए । उनी अमेरिकाको हप्ता दिने बसाइ सकेर क्युवा गएका हुन् । अमेरिकामा हुँदा उनले विश्व बैंकका अधिकारीलाई भेटे । टाइम्स स्क्वायरमा भएको कार्यक्रमलाई सम्बोधन गरे । संयुक्त राष्ट्रसंघको मुख्यालय पनि पुगे ।
भ्रमणबाट नेपाली कमरेडहरूले सिक्ने कुरा धेरै छन् । पहिलो र सबैभन्दा ठूलो सिकाइ हो, विश्वासको वातावरण र शक्ति सन्तुलन । अमेरिका र क्युवाबीच राम्रो सम्बन्ध छैन । एक अर्काका दुष्मनजस्तै हुन् यी दुइ देश । तर, मुख्यमन्त्री पिनारायी भिजायानले यी दुवैलाई एकै प्याकेजमा भ्रमण गरे । उनी क्युवा गएकोमा अमेरिकीहरू बेखुशी भएनन् । र, अमेरिका हुँदै आएकोमा क्युवालीहरू पनि रिसाएनन् । यस्तो खालको हार्दिक सम्बन्ध र विश्वास निर्माणमा केरलाका मुख्यमन्त्री तथा भाकपा (माक्र्सवादी) नेता पिनारायी भिजायानबाट नेपाली कमरेडहरूले सिक्ने धेरै ठूलो ठाउँ छ । नेपालमा पनि क्युवाको ठूलो सफ्टपावर छ । नेपाली वामपन्थीहरू क्युवाली क्रान्ति पढेर हुर्किएका हुन् । उनीहरूलाई फिडेल क्यास्ट्रोको बारेमा एकदम थाहा छ । चे ग्वेभारादेखि राहुल क्यास्ट्रोसम्मका कथाहरू पनि नेपाली कमरेडहरूले खरर भन्न सक्छन् । पछिल्लो समय फिडेल, चे र राहुलको देश क्युवाले खासगरी सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ । कोरोना कालमा आफ्नै देशबाट उत्पादित खोप लाउने थोरै देशमा क्युवा पनि थियो । ओलम्पिकमा क्युवाले भारतले भन्दा अत्यन्तै धेरै मेडल जित्दै आएको छ । उदाहरणका लागि सन २०२१ को टोक्यो ओलम्पिकमा क्युवा १४ स्थानमा रहेर १५ मेडल बिजेता बन्दा भारत ४८ औँ स्थानमा रहेर ७ मेडल मात्रै जित्न सफल भयो । सायद यही क्युवाली शक्तिकै कारण हुनुपर्छ केरलाका मुख्यमन्त्री पिनारायी भिजायानसँग कुरा गर्दा क्युवाली राष्ट्रपति मिगेल दियाज कनेजले स्वाथ्य, खेलकुद र बायोटेक्नोलोजीमा क्युवा र केरेलाबीचमा सहकार्य हुन सक्छ भनेका छन् ।
नेपालले पनि क्युवाका सार्वजनिक स्वास्थ्य, खेलकुददेखि बायोटेक्नोलोजीमा सहकार्य गर्न सक्छ । तर, त्यसको लागि कूटनीतिक रूपमा अमेरिकाले के भन्ला कि वा अरु कोही रिसाउला कि भनेर हुन्न । केरलाका मुख्यमन्त्रीले जस्तो अमेरिका यात्रा सकेर क्युवा गई नेपाली मन्त्री वा प्रधानमन्त्रीहरूले यो तहमा कूटनीति गर्न सक्छन् । क्युवाली क्रान्ति घोकेका र घोकाएका नेपाली कमरेडहरूले अब त्यो क्रान्तिले ल्याएका स्वास्थ्य, खेलकुद र बायोटेक्नोलोजी क्षेत्रका अरु क्रान्तिहरू पनि नेपालमा फैलाउन आवश्यक छ । नेपालमा बुझाउन, पढाउन आवश्यक छ । नेपालीहरूलाई छात्रबृत्तिमा क्युवा पढाउन सरकारले पहल गर्न सक्छ ।
केरलाका मुख्यमन्त्री पिनारायी भिजायानको क्युवा कूटनीतिबाट सिक्ने अर्को पक्ष भनेको प्रधानमन्त्री वा संघ सरकराले मात्रै होइन प्रदेश सरकारले पनि आफ्नो तहको कूटनीतिक अभ्यास गरेर देश र प्रदेशलाई राम्रो फाइदा दिन सक्छन् भन्ने हो । जसरी केरलाका मुख्यमन्त्रीले क्युवासँग ऐतिहासिक भ्रमण गरेर केही काम देखाए । ठीक त्यसैगरी, नेपालको सात प्रदेशका मुख्यमन्त्रीहरूमा कसैले यस्तै अभ्यास गर्न सक्छन् । क्युवासँग वा अमेरिकासँग मात्रै होइन । जुनसुकै देश वा प्रदेशसँग त्यो तहको अभ्यास गर्न सक्छन् । तर, त्यसका लागि राम्रो अध्ययन, आत्मविश्वास र अजेन्डा भने आवश्यक छन् । यसो हुँदा मात्रै कम्युनिष्ट कूटनीतिमा कमरेडहरूको अब्बल प्रस्तुति देखिनेछ । अझ कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको शहरमा यो अभ्यास गर्न धेरै राम्रो अवसर पनि छ ।
टिप्पणीहरू