स्थानीय सरकार र प्रहरीबीच ‘टसल’, कर्मचारीको आन्दोलनले सेवा ठप्प

स्थानीय सरकार र प्रहरीबीच ‘टसल’, कर्मचारीको आन्दोलनले सेवा ठप्प

बाराको एक स्थानीय तह र प्रहरीबीच अविश्वास चर्किएको छ । आफ्ना कर्मचारीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयले आलटाल गरेको भन्दै पचरौता नगरपालिकाले असन्तुष्टी जनाएसँगै दुई निकायबीच ‘टसल’ देखिएको हो । 

कार्यालयमा प्रवेश गरेर कर्मचारीहरुलाई गालीगलौज गर्दै हातपात गर्ने, कम्प्युटर र प्रिन्टरहरु तोडफोड गर्ने व्यक्तिहरुलाई हालसम्म पनि कारबाही नगरेको भन्दै प्रहरीको कामप्रति नगरपालिकाले असन्तुष्टी जनाएको छ । तर, प्रहरीले भने घटनामा संलग्नहरुलाई समातेर सोधपुछ गरिरहेकाले चाँडै कारबाहीको दायरामा ल्याउने बताउने गरेको छ । 

असार १२ गते दिइएको जाहेरीमाथि कुनै किसिमको अनुसन्धान अघि नबढाई प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको निर्देशनमा उल्टै कर्मचारीहरुमाथि मुद्दा दायर गर्न लागिएको नगरपालिकाको आरोप छ । त्यसको विरोधमा आजदेखि नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा ठप्प पारिएको छ ।

कर्मचारीहरुमा भय र त्रास पैदा भएकाले काम गर्न नसकिने बताउँदै नगरपालिकाले वडा कार्यालय, स्वास्थ्य चौकी, अस्पताललगायत मातहतका निकायको सेवा बन्द गरेको हो । त्यसबाट पर्ने असरको जिम्मेवारी एसपी बोगटीले लिनुपर्ने चेतावनीसमेत नगरपालिकाले दिएको छ । 

यता, प्रहरी कार्यालयले नगरपालिकाको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ । घटनामा संलग्न व्यक्तिहरुसँग सोधपुछ गरिरहेको दाबी गर्दै प्रहरीले नगरपालिकाको काम–कारबाही रोक्ने निर्णयलाई गलत भनेको छ । राष्ट्रसेवक कर्मचारीलाई जोडेर आमनागरिकमा भ्रम पैदा गरेको भन्दै प्रहरी कार्यालयले आपत्तिसमेत जनाएको छ । 

गत असार १० गते मनोजकुमार यादव, मकबुल मियाँ अन्सारी, प्रदिप चौरसिया, मुनादेवी पासवान, पानालालकुमार यादव, मंजिद मिया मन्सुरी, रामबालकप्रसाद यादवले नगरपालिकामा प्रवेश गरी कर्मचारीहरुमाथि हातपात गरेका थिए । 

नगरपालिकाले उनीहरुलाई कडा कारबाही गरी क्षतिपूर्तिसमेत असुलउपर गर्न माग गर्दै असार ११ गते जिल्ला प्रशासन कार्यालय, बारा र असार १२ गते जिल्ला प्रहरी कार्यालय, बारामा निवेदन दिएको थियो । तर, हालसम्म पनि प्रहरीले कारबाहीमा चासो नदेखाएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

टिप्पणीहरू