काँग्रेस बैठक आगामी २ गते, सीताको निधनले धेरै कार्यक्रम स्थगित
नेपाली काँग्रेसले आज दिउँसो १ बजे बोलाएको केन्द्रीय समिति बैठक आगामी साउन २ गते मंगलबार सारेको छ । कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जारी गरेको सूचनामा आजको बैठक एक साता पछाडि धकेलिएको उल्लेख छ ।
सूचनामा बैठक सार्नुको कारण उल्लेख नगरे पनि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनका कारण उक्त बैठक सारिएको बताइएको छ । सूचनामा उल्लेख छ, ‘आज दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक २०८० श्रावण २ गते दिउँसो १ बजे बस्ने भएको छ ।’
आज बिहानलाई डाकिएको राष्ट्रिय सभाको बैठक पनि भोलि बिहानसम्मको लागि स्थगित गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे १० बजे राखिएको ‘अनौपचारिक तथा स्वरोजगार श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ कार्यक्रम पनि स्थगित भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री दाहाललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।
टिप्पणीहरू