गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
झापाको झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पालिकाका अध्यक्ष साहसहित उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इञ्जिनियर अभिषेक दास, सबइन्जिनियर विज्ञान चम्लागाईं, वडा नम्बर ६, ७ र ३ का वडाध्यक्ष क्रमशः हरिबहादुर बानियाँ, नेत्रप्रसाद उप्रेती, मोतिलाल गणेशविरुद्ध आज मुद्दा दायर भएको हो ।
त्यस्तै, लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद पोखरेल र कोषाध्यक्ष शान्तादेवी सुब्बाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उनीहरुको मिलोमतोमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित रकमबाट पालिकाको वडा नम्बर ३, ६ र ७ स्थित लक्ष्मीमार्गमा ग्राभेल योजना कार्य सम्पन्न नै नगरी नक्कली बील भरपाई बनाई भुक्तानी गरिएको अख्तियारको दाबी छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम २२ लाख ९ हजार ८२३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन समेत मागदाबी गरेको छ ।
टिप्पणीहरू