६२ अर्ब रुपैयाँ जोखिममा परेपछि ५० हजार पीडितहरु सडकमा उत्रने तयारी
राज्यको तीन खम्बे अर्थतन्त्रको रूपमा रहेको सहकारी संस्थाहरू एकपछि अर्को सहकारी बचतकर्ताहरूको करोडौं रकम अपचलन गरेर फरार भएपछि पीडितहरु बिलखबन्दमा परेका छन् । सहकारी पीडितहरू आफ्नो बचत रकम फिर्ताको माग गर्दै काठमाडौ माइतीघर मण्डलामा डेढ महिनादेखि २४ घण्टे धर्नामा छन् ।
सरकारले उनीहरुको माग पूरा नगरेपछि सहकारी पीडित बचतकर्ता संघर्ष समिति महासंघले असार ३१ गते आइतबारका दिन राजधानीमा ५० हजारको जुलुस निकाल्ने तयारी गरेको हो । चार सातादेखि आन्दोलनमा रहँदा पनि पीडितहरुको माग पूरा नभएपछि आन्दोलनका थप कार्यक्रम अगाडि सारिएको बताइएको छ ।
बचत तथा ऋण सहकारीमा ठगी, संगठित अपराध निर्मूल गर्न, सहकारीमा स्वनियमन खारेज गरि, सहकारीलाई नेपाल राष्ट्र बैंक मातहत अनुगमन, नियमन, गराउन अहिले सरकारले एक बर्ष भित्र सहकारीको बचत रकम फिर्ता गर्ने भनिए पनि त्यो अन्यौलमा रहेको हुनाले अहिलेको आन्दोलन गर्नुपरेको सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) का संरक्षक श्री कुशलव केसीले बताए ।
पीडितले सहजरुपमा आफ्नो बचत रकम फिर्ता पाउने अवस्था नभएकाले जनदबाब अत्यावश्यक रहेको सहकारी पीडित र विज्ञहरूको धारणा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनको कारणले आन्दोलनको कार्यक्रम असार ३१ गते सारिएको बताउँदै आयोजकले भनेका छन्, ‘अब यसलाई निर्णायक बनाउन सबैले साथ दिनुपर्ने छ ।’
सहकारी ऐन सदस्य बचतकर्ताको हितमा संसोधन, सञ्चालक समिति कर्मचारीका चल अचल सम्पत्ति छानबिन, शुद्धिकरण, स्थानीय तहमा दर्ता तथा स्वीकृति अनिवार्य, स्थानीय तहमा परेको उजुरी सर्वेसर्वा हुनुपर्नेमा जोड दिइएको छ ।
पीडित बचकर्ताहरुको निक्षेप रकम अविलम्ब फिर्ता र सुनिश्चितता, सञ्चालनमा रहेका सहकारीलाई सुधारक, संरक्षण, सम्बद्र्धन, सम्मान, र फरार, बन्द रहेका ठगी भ्रष्ट सहकारी सञ्चालक, कर्मचारी, उनका आफन्त, नातागोता र निजका तीनपुस्तेबाट सम्पत्ति राज्यले नियन्त्रणमा लिई सदस्य बचतकर्ताहरुको हितमा व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।
बाँकी हुन आउने सम्पति राज्यकोषको निगरानीमा संसदबाट कानुन बनाई पीडित बचतकर्तालाई तत्कालीन समस्या समाधान गर्दै आगामी दिनमा अरुले यस्तो दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले जनप्रदर्शनलाई भव्यरुपमा सफल बनाउन लागिएको संघर्ष समितिले जनाएको छ ।
काठमाडौंको ओरेन्टल, सुमो, देउराली, कान्तिपुर, खुशी, शिवशिखर बहुउद्देश्यीय, इमेज बचत तथा ऋण सहकारी संस्थालगायत पाँच दर्जन भन्दाबढी संस्थाका पीडित सदस्यहरू आफ्नो जम्मा भएको बचत फिर्ताको माग गर्दै धर्नामा बसेका छन् ।
काठमाडौ माइतीघर मण्डलामा उनीहरूले जेठ २० गतेदेखि बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छन् । यसअघि बानेश्वर चोकसम्म आन्दोलन, मसाल जुलुस, जिल्लामा पनि जनदबाब दिँदासमेत सरकारले माग सुनुवाइ नगरेको भन्दै ४५ औ दिन पुगेको अवसरमा व्यापक जनप्रदर्शन गर्न लागिएको हो ।
‘असार ३१ गते माइतीघर मण्डला जाऔँ, सहकारीमा फसेको आफ्नो पैसा फिर्ता ल्याउँ,’ ‘नेपालभरका सबै सहकारी पीडित बचतकर्ता एक हौं, आफ्नो निक्षेप अविलम्ब फिर्ता र सुनिश्चितताका लागि आफंै लडौं भन्ने नाराका साथ कार्यक्रम तय भएको बताइन्छ ।
सहकारी पीडित बचतकर्ता संघर्ष समिति महासंघका अनुसार हालसम्म मुुलुकभरका लाखौं सहकारी सदस्यहरूको ६२ अर्ब रुपैयाँ जोखिममा परेको छ ।
-राजेशचन्द्र राजभण्डारी

टिप्पणीहरू