दरबार हुँदा र नहुँदाका दुःख
डराउनुपर्ने मान्छे वा संस्था नहुँदा कस्तो बेथिती बढ्छ भन्ने कुरा नेपाली सेनामा हेरे पुग्छ । जब राजाको शासनमा मुलुक थियो, सेनामा भ्रष्टाचारको ‘भ’ पनि खासै सुनिँदैन थियो । अहिले प्रधानसेनापतिपिच्छे भ्रष्टाचारका फेहरिस्त उत्रिने स्थिति छ ।
राशन, टिएडिएदेखि विभिन्न खरिद मामिलासम्म सेनाभित्र आर्थिक अनियमितताका अलग अलग फेहरिस्त उत्रिने गरेको छ । अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने, सम्पत्ति शुद्धिकरणले हेर्न पनि नमिल्ने स्थितिमा सेनाभित्र अनियमितता फस्टाएको हो । निजगढबाट काठमाडौं उपत्यका जोड्ने फास्टट्रयाक परियोजनाका अनियमिततालाई संसदीय समितिको खबरदारीपछि छानवीनको विषय त बनाइयो, तर भित्रभित्रै त्यहाँ कुन स्तरको आर्थिक चलखेल छ भन्ने कुरा हत्तपत्त बाहिर आउँदैनन् । जब सेनामाथि दरबारको नियन्त्रण थियो, तबसम्म सेनाका अनियमितता र भ्रष्टाचारका कुरा भए, गरे पनि भित्रभित्र सामसुम हुन्थे वा राजपरिवारका सदस्यबीचमा बाँडफाँड हुन्थे । तर, अहिले देशमा सेनाभित्र ठुल्ठूलो स्केलमा तलमाथि हुने गरेको छ ।
राजाको पकडमा रहँदा तत्कालिन प्रधानसेनापति गडुलसमशेर राणाले राजीनामा दिएर घर जानु पर्याे । कतिपय प्रधानसेनापति आदर्शवान थिए, आचरणमा दृढ पनि । जस्तो कि गुणसमशेर, जसले जागिरबाट तलब, राशन र दर्जाको नामबाहेक केही लगेनन् । घर थियो, ललितपुर, सानेपा हाइटमा । दाउराले बल्ने तीनकुने चुलोबाट स्टोभ हुँदै समय ग्यास सिलिण्डरमा पुग्दा पनि उनी दाउरामै भात पकाउँथे । स्रोत, साधन र संस्कार भएकाहरु भ्रष्टाचारमा लाग्दैन थिए तर प्रज्ज्वलसमशेर राणाको पालादेखि सेना आर्थिक दृष्टिले पनि बदनाम हुँदै गयो ।
बीचमा ‘जनताका छोरा’ बाट प्रधानसेनापति हुने छत्रमानसिंह गुरुङ, रुक्माङ्द कटवालसम्मले थोरै सेनाको साख बचाए । छत्रमानले मेडिकल कलेज खोलेर नयाँ काम गरे । कट्वालले राजनीतिक भाषा बोलेर दलहरुलाई रिंगाए । प्यारजंग थापा पनि आर्थिक मामिलामा उति साह्रो बद्नाम भएनन् । तर, ‘जनताका छोरा’ भन्दै प्रधानसेनापति हुने अरुले गति छाडे । पूर्णचन्द्र थापा, राजेन्द्र क्षेत्री दुवैले कम्बल ओढेर घ्यु खाए ।
टिप्पणीहरू