पूर्वपञ्चहरुको पार्टीमा छोराछोरी पुस्तालाई मौका

पूर्वपञ्चहरुको पार्टीमा छोराछोरी पुस्तालाई मौका

पूर्वपञ्चहरुको पार्टी राप्रपाले पार्टीमा युवाको आकर्षण बढाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने अभियान अघि बढाउने निर्णय गरेको हो । 

युवा लक्षित संगठन विस्तारमा जोड दिएको राप्रपाले सबै तहमा ४० वर्षसम्मका युवाहरूको सहभागिता अनिवार्य गर्ने जनाएको छ । त्यसका लागि केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा सात जना युवाको प्रतिनिधित्व गराउने केन्द्रीय समितिको निर्णय छ ।

आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्रारम्भिक छनौट प्रक्रिया अपनाउने निर्णय गरेको राप्रपाले अनलाइन सदस्यता प्राप्तिको व्यवस्था पनि मिलाएको छ । 

गत १ देखि ३ जेठसम्म चलेको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपा : अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत मूलभूत बुँदाहरू सार्वजनिक गर्दै प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । 

उनका अनुसार अनलाइनबाटै साधारण, सक्रिय सदस्य बन्न तथा आर्थिक सहयोग पनि गर्न सकिनेछ । एक वर्षभित्रमा सक्रिय सदस्य संख्या दुई लाख कटाउने लक्ष्य लिएको राप्रपा राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्याउन खटिएर लाग्ने भएको छ ।

टिप्पणीहरू