समवेदना व्यक्त गर्न प्रधानमन्त्री निवास पुगे राजनीतिज्ञ, कूटनीतिज्ञ र सर्वसाधारण

समवेदना व्यक्त गर्न प्रधानमन्त्री निवास पुगे राजनीतिज्ञ, कूटनीतिज्ञ र सर्वसाधारण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, बुद्धिजीवीलगायतले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्रीप्रति समवेदना व्यक्त गरेका हुन् । साथै, उनीहरुले सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् । 

आज बिहान प्रधानमन्त्री प्रचण्डले दिवंगत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । त्यसपछि माओवादी केन्द्रका नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जली दिएका थिए ।

त्यस्तै, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री धनराज गुरुङ, खानेपानीमन्त्री महेन्द्र राय यादव, बाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री गङ्गा नारायण श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवंगत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे । उनीहरुले प्रधानमन्त्री प्रचण्डसहित शोकाकूल परिवारजनमा समवेदना पनि प्रकट गरेका थिए । 

श्रद्धाञ्जलीका लागि काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु पनि आजै बालुवाटार पुगेका थिए । नेपालका लागि कोरियाका राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रुसी राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगायत मुलुकका राजदूतहरू पनि बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, चलचित्र विकास समितिका अध्यक्ष भुवन केसी, कलाकार जितु नेपाललगायत पनि स्वर्गीय सीता दाहाललाई श्रद्धाञ्जली दिन र शोकमा रहनुभएका प्रधानमन्त्रीलाई समवेदना दिन बालुवाटार पुगेका थिए ।  

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरेको छ ।

टिप्पणीहरू