एक वर्षपछि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री दूतावासमा
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेलगत्तै महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका छन् । उनी बिहान पौने १२ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । डाेनाल्ड विमान बंगलादेशकाे उडान नम्बर बीजी ३७१ मा ढाकाबाट आएका हुन् ।
दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धी सहायकमन्त्री लु नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यान्वयन अवस्थाबारे जानकारी लिन आएको बताइएको छ । उनी झण्डै एक वर्षपछि नेपाल आएका हुन् ।
एमसीसी पारित हुनुअघिदेखि आउजाउ गर्दै आएका लुको यो तेस्रो पटक नेपाल भ्रमण हो । झण्डै १४ घण्टा काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेर राति २ बजे दोहा हुँदै अमेरिकी फर्कने कार्यक्रम छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गर्दैछन् । साँझ होटल द्वारिकामा उनको सम्मानमा रात्रिभोजको आयोजन गरिएको छ ।
राजदूत डिन आर थम्प्सन र दूतावासका असिस्टेन्ट क्षेत्रीय सुरक्षा अफिसर क्रिस्टोफर डि. म्याकक्लाउडले डोनाल्डलाई विमानस्थलमा स्वागत गरेका थिए ।
टिप्पणीहरू