रत्ननगरमा बिहान पढाउन नपाइने, छात्रवृत्तिका लागि साउन मसान्तसम्मको म्याद
चितवनको रत्ननगर नगरपालिकाभित्र कक्षा ११ र १२ को बिहानी पठनपाठनमा रोक लगाइएको छ ।
बिहानी सत्र सञ्चालन गर्ने कुनैपनि विद्यालयले ६ घण्टा पठनपाठन नगराएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका शिक्षा अधिकारी बद्रीनारायण शर्माले आज सूचना प्रकाशित गर्दै कक्षा ११ बिहानी समयमा सञ्चालन गर्न कुनै पनि विद्यालयलाई अनुमति नदिने बताए ।
साथै, कक्षा ११ बिहानी समयका निम्ति विद्यार्थी भर्ना गर्ने कार्य नगर्न नगराउन पनि उनले सूचनामा उल्लेख गरेका छन् ।
‘बिहानी सत्रमा सञ्चालन गर्ने कुनै पनि विद्यालयले ६ घण्टा पठनपाठन नगराएको हुँदा नगरपालिकाको ध्यानाकर्षण भएको छ । कक्षा ११ बिहानी समयका निम्ति विद्यार्थी भर्ना गर्ने कार्य नगर्नु नगराउनु,’ सूचनामा भनिएको छ, ‘कक्षा ११ बिहानी समयमा सञ्चालन गर्न कुनै पनि विद्यालयलाई अनुमति दिइने छैन । सोबाट पर्ने असरका निम्ति भर्ना गर्नेले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने जानकारी गराइन्छ ।’
त्यस्तै, नगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आगामी साउनदेखि साउन मसान्तसम्मको म्याद राखी सार्वजनिक सूचना प्रकाशन गरी कम्तीमा नगरपालिका, वडा कार्यालय र विद्यालयमा टाँस्न पनि भनेको छ ।
छात्रवृत्तिमा जेहेन्दारका लागि विद्यालय र विपन्नका लागि पालिका वा वडाको सिफारिस पत्र संलग्न हुनुपर्ने र छनौटका आधार सूचनामा समावेश हुनुपर्ने पनि नगरपालिकाले जनाएको छ ।
टिप्पणीहरू