समयमै ऋण नतिर्नेलाई कालोसूचीमा राख्ने नगरपालिकाको चेतावनी

समयमै ऋण नतिर्नेलाई कालोसूचीमा राख्ने नगरपालिकाको चेतावनी

बाग्लुङको गलकोट नगरपालिकाले समयमै सहकारी संस्थाको ऋण तिर्न सम्पूर्ण ऋणीहरुलाई आग्रह गरेको छ । ऋणीहरुले नियतवशः ऋण नतिरिदिँदा सहकारीमा समस्या आएको उल्लेख गर्दै आफूले लिएको ऋण समयमै बुझाउन नगरपालिकाले आग्रह गरेको हो ।

केही ऋणी सदस्यले ऋण मिनाहा हुने भन्दै अफवाह फैलाएकाले सहकारीमा समस्या देखिएको नगरपालिकाको ठहर छ । ऋणी सदस्यले लिएको ऋण मिनाहा नहुने बताउँदै त्यस्ता अफवाहको पछाडि नलाग्न सुसूचित गराइएको हो । 

ऋणीले ऋण नतिरिदिँदा बचतकर्ताहरुको निक्षेप फिर्ता गर्न समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले बताए । खराब ऋणको मात्रा बढ्दै गएकाले सहकारीहरुले बचत फिर्ता गर्न नसकेको सूचना प्राप्त भएको उनको भनाइ छ । 

‘सहकारी संस्थाले कानुनी प्रक्रिया पूरा गरी जमानीबाट वा धितोबाट वा धितो नराखिएको ऋणीको वा परिवारको जायजेथाबाट समेत असुल गर्न सक्छ र यस प्रक्रियामा नियामक निकायको समेत सहयोग हुन्छ, यसरी ऋणी सदस्यले लिएको ऋण मिनाहा हुने सम्भावना हुँदैन, अतः कतै कसैको अफवाहमा नलागि आफूले लिएको ऋण–किस्ता समयमै बुझाउन सम्पुर्ण ऋणी सदस्यहरुमा अनुरोध गरिन्छ’, नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, नगरपालिकाले सहकारी संस्था र संस्थाका सदस्यहरुलाई आफ्नो जिम्मेवारी इमान्दार, अनुशासित, पारदर्शी तरिकाले निर्वाह गर्न आग्रह गरेको छ । ऋणी सदस्यहरुले ऋण नतिरे वा पटक–पटक ताकेता गर्दासमेत बेवास्ता गरेमा नियामक निकायको हैसियतले कालोसूचीमा राख्ने नगरपालिकाले चेतावनी दिएको छ ।

टिप्पणीहरू