दलितमाथिको उत्पीडनविरुद्ध १६ जिल्लामा प्रदर्शन

दलितमाथिको उत्पीडनविरुद्ध १६ जिल्लामा प्रदर्शन

दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजले देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । 

छुवाछुत मानवताविरुद्धको अपराध रहेको भन्दै गत असार २३ गतेदेखि आजसम्म शान्ति समाज जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, संखुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौं, तेह्रथुम, कैलाली, मोरङ र कास्की गरी १६ जिल्लामा प्रर्दशन भएको हो । 

त्यसक्रममा प्रदर्शनकारीहरुले ‘दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलनः सामाजिक न्यायका लागि दण्डहीनता अन्त्य गर’ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र कानूनी व्यवस्थाका बाबजुद छुवाछुत र जातीय भेदभावजस्ता मानवता विरोधी अपराधका घटनाहरु बारम्बार घटिरहनुको कारण त्यस्ता घटनामा संलग्न दोषीलाई राजनीतिक एंव सामाजिक संरक्षण प्राप्त हुनु र दण्डहीनता रहनु शान्ति समाजले जनाएको छ । 

समाजले ‘दलित अधिकार मानव अधिकार’ भन्ने नारासहित विगत २७ वर्षदेखि दलित समुदायको सामाजिक न्यायका लागि अभियानरत दण्डहीनताविरुद्धको अभियान जारी राखेको छ ।

टिप्पणीहरू