खोला–कुलो–नहर मिचेर बनाइएको संरचना हटाउन निर्देशन
सुनसरीको इटहरी उप–महानगरपालिकाले खोला–पैनी वरिपरिका भौतिक संरचना हटाउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा मिचेर भौतिक संरचना बनाउने क्रम बढेपछि उप–महानगरपालिकाले ३५ दिनभित्र त्यस्ता सबै संरचना हटाउन निर्देशन दिएको हो ।
टेग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकारभित्रको जग्गाको दुवै किनाराबाट ६–६ मीटर छोडेर भवन–संरचना बनाउनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै उप–महानगरपालिकाले अधिकांशले अटेर गरेको जनाएको छ ।
आज सूचना जारी गर्दै उप–महानगरपालिकाले कानुनविपरीत निर्माण भएका भौतिक संरचना तोकिएको समयभित्र भत्काउन निर्देश गरेको हो । सार्वजनिक जग्गा अतिक्रमण गरेर भौतिक संरचना बनाउँदा समग्र उप–महानगरपालिकालाई असर परेको उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक जग्गा अतिक्रमण हुँदा यस क्षेत्रका बासिन्दालाई मात्रै नभएर समग्र इटहरी उप–महानगरपालिकालाई नै गम्भीर असर परेको छ । तसर्थ, यसरी कानुनविपरीत निर्माण भएका अनधिकृत भवन–संरचना यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र तपाईं स्वयम्ले हटाउनुपर्नेछ ।’
यस्तै, अटेर गर्नेको भौतिक संरचना आफैंले भत्काउने उप–महानगरपालिकाले चेतावनी दिएको छ । त्यसबापतको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने अग्रिम जानकारी गराइएको छ ।
टिप्पणीहरू